एक्सन, रोमान्स, ड्रामा : कस्ता छन् नेपाली सिनेमा ?

चैत्र १६, २०८० |विकास आचार्य
एक्सन, रोमान्स, ड्रामा : कस्ता छन् नेपाली सिनेमा ?

काठमाडौं । यो वर्ष निर्माण भई प्रदर्शनमा आएका दुईवटा नेपाली चलचित्र ‘जारी’ र ‘दिमाग खराब’ ले राम्रो व्यापार गरे । त्यसबाहेक एक सातादेखि प्रदर्शनमा रहेको चलचित्र महाजात्राले पनि राम्रै बजार पाएको छ । तर यसबीचमा ५० वटा चलचित्र सार्वजनिक भए । यति धेरै चलचित्रमा जम्मा २/३ वटाबाट चलचित्र मात्रै किन चले ?

शुक्रबारलाई सिनेमा प्रदर्शनको दिन मानिन्छ । तर, चैत महिनाको तेस्रो शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएन । प्रचार गरेको ‘सलिना’ लाई निर्देशकले अन्तिम समयमा हलबाट उतारे । हाल सिनेमा घरमा प्रदीप भट्टराई निर्देशित महाजात्रा र दुई विदेशी सिनेमा प्रदर्शनरत छन् । महाजात्रा अघिल्लो सातादेखि प्रदर्शनमा आएको हो जसको व्यापार आक्रामक देखिन्छ ।

एक सातामा उसको आम्दानी साढे ६ करोडमाथि छ । फागुनको अन्तिम साता प्रदर्शनमा आएका ज्ञानेन्द्र देउजा निर्देशित उपहार, अर्जुन सुवेदीको रंगेली र मिलन च्याम्सको गोर्खा वरियरले पनि सोचे जति व्यपार गर्न सकेनन् । बक्स अफिसमा उनीहरु निरिह साबित रहे । आखिर कस्ता फिल्म हेर्न दर्शन हलसम्म पुग्ने गरेका छन् त ? ‘जहाँचाहिँ सम्बन्धहरुको कथा, जहाँ भावनाहरुको उतारचढावको कथा सम्बन्धहरु हरेक दर्शकले अँगाल्न सक्छ । हाँसो र आँसुको समिश्रण नेपाली सिनेमामा भयो भने चल्ने देख्छु म,’ फिल्मकर्मी मनोज पण्डितले भने ।

यस वर्ष नेपाली र विदेशीसहित १३५ सिनेमा प्रदर्शनमा आए । जसमा ५० वटा नेपाली हुन् । प्रदर्शन भएका ५० मध्ये दुई नेपाली चलचित्रले मात्र १० करोडमाथिको व्यापार गर्न सके । जसमा ‘जारी’ र ‘दिमाग खराब’ छन् । जारी सामाजिक विषयवस्तुमा आधारित थियो भने दिमाग खराबले राजनीतिक विषयलाई पनि समेटेको थियो । अरु आधा दर्जन फिल्मले मुस्किलले लगानी सुरक्षित राख्न सके । त्यसबाहेक अरु फिल्म फ्लप साबित भए ।

कुनै साता नेपाली चलचित्र प्रदर्शनमै नआउने कुनै साता आधा दर्जनसम्म पनि प्रतिस्पर्धामा उत्रिनुले पनि चलचित्रले सोचेअनुरुप कमाइ गर्न नसकेको देखिन्छ । केहि राम्रा फिल्मको प्रचार कमजोर भएकाले पनि दर्शन पाएनन् ।

बन्नलाई सामाजिक विषयवस्तुदेखि एक्सन, क्राइम थ्रिलर र प्रेम र रोमान्सका कथामा पनि फिल्म निर्माण भए । कमेडी विधाका फिल्म पनि बनिरहेकै छन् । तर जति बनेका छन्, अधिकांशमा पैसाको लगानी भए पनि मिहिनेत र सिर्जनशीलताको लगानीको अभाव हुँदा तिनले अपेक्षाकृत व्यापार गर्न नसकेका हुन् ।

स्टार कलाकारले भरिएका फिल्म हुन् वा नयाँ-नयाँ प्रविधिमा बनेका फिल्म हुन्, विधा जुनसुकै होस्, पर्याप्त गृहकार्य र कथावाचनमा नवीनता नहुँदा अधिकांश फिल्मले लगानीसमेत उठाउन नसक्नुले नेपाली सिनेजगतको विडम्बना उजागर गरिरहेका छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement