निर्वाचन सामग्री हस्तान्तरण, कर्मचारी मतदान केन्द्रमा खटिए

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन सामग्री हस्तान्तरण, कर्मचारी मतदान केन्द्रमा खटिए

काठमाडौं । आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुरेको सम्बन्धित पालिकास्थित मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिकाको ७ नम्बर वडाको अध्यक्षको उपनिर्वाचन तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले जानकारी दिनु भयो । नलगाडमा २४ र कुशे गाउँपालिका ७ मा दुई वटा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आवश्यक तालिमपछि ५३ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेर सम्बन्धित ठाउँमा खटाइएको जानकारी पनि उहाँले दिनु भयो । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताउनु भयो। नलगाड नगरपालिका र कुशे गाउँपालिका ७ मा गरि १७ हजार ७ सय ५१ मतदाता छन् ।

उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रौतहटले पनि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। सबै निर्वाचन सामग्री सहित मतदान केन्द्रमा खटिने कर्मचारी सम्बन्धित मतदान केन्द्रमा खटिएका छन् । रौतहटको इशनाथ, राजपुर र गढीमाई नगरपालिकामा वडाध्यक्षको उपनिर्वाचन हुन गइरहेको छ। मतदानस्थलको तयारी शनिबार हुँदै छ ।

दैलेखको महावु गाउँपालिका र दुल्लु नगरपालिकाको १३ नम्बर वडाको उपनिर्वाचन तयारी अन्तिम चरणमा रहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनु भएको छ। महाबु गाउँपालिकामा अध्यक्ष पदको मतदान गराउन १६ र दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष छान्न हुने मतदानमा चार मतदान केन्द्र तोकिएको छ । मतदानस्थलमा २० जना मतदान अधिकृत समेत एक सय २० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

गण्डकी प्रदेशमै एक मात्र स्थान गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि निर्वाचन हुने दिन आइतबार नगरभर बिदा दिइएको छ । निर्वाचनका दिन आवातजावत कठिनाइ हुने र अन्यत्र कार्यरत रहेका सो वडाका मतदातालाई बिदा आवश्यक भएकोले नगर प्रमुखस्तरीय निर्णयबाट बिदा दिइएको हो ।

धनुषाको धनुषाधाम नगरपालिकमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ५३ प्रकारका निर्वाचन सामग्री बुझेर कर्मचारी मतदान केन्द्रमा गएका छन् । तीन हजार दुई सय २६ मतदाता रहेको १ नम्बर वडामा अध्यक्षको लागि हुन लागेको उपनिर्वाचनमा चार वटा मतदान केन्द्र तोकिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा हुन लागेको वडाध्यक्षको निर्वाचनका लागि कर्मचारी, सुरक्षाकर्मी र व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पठाइएको छ । रोल्पाको रुन्टीगढी-४ को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै दोलखाको गौरीश‌ंकर गाउँपालिकामा हुने उपाध्यक्षको उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यान राखी एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement