भत्कियो एक्लाएक्लै चुनाव लड्ने प्रतिबद्धता

मंसिर ९, २०८१ |प्रेम रौले|विकास आर्या|प्रकाश बम
भत्कियो एक्लाएक्लै चुनाव लड्ने प्रतिबद्धता

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरू अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । गत निर्वाचनमा गठबन्धन गरेका प्रमुख दलहरूले यसपटक गठबन्धन नगर्ने उद्घोष गरेका छन् । तर निर्वाचन हुने केही स्थानीय तहमा गठबन्धन भएको छ ।

यस पटक उपनिर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका चिर प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका तल्ला संरचनाले भने त्यसो गरेका छैनन् । कतै एमालेले कांग्रेसलाई र कतै कांग्रेसले एमालेलाई सघाएको छ । जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग गरेको थियो । रुकुमपूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा कांग्रेसको रुख चुनाव चिह्नबाट एमालेकी केशकुमारी तुलाचनको उम्मेदवारी दर्ता भएको छ ।अझ बाजुराको स्वामी कार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा बामपन्थी एकता सहित एमाले र माओवादीबीच गठबन्धन नै बनेको छ ।

दलहरूबीच सद्भाव र सामाजिक एकता कायम राख्न र एकल प्रतिस्पर्धामा उत्रिन नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पंक्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर नै पठाएको छ । जसमा स्थानीय तहका नेता कार्यकर्तालाई मंसिर १६ को उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिइएको छ । कांग्रेस नेतृत्वले तल्लो तहलाई गरेको परिपत्रमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिँदै अरू प्रतिस्पर्धी दलले आचारसंहिता नमाने सम्बन्धित निकायमा उजुरी र समन्वय गर्न भनेको छ । केन्द्रकै निर्देशन बमोजिम तल्ला तहले पनि मित्रवत प्रतिस्पर्धा गरिरहेको बताइरहेका छन् ।

प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्रले ४० स्थानमा उम्मेदवारी दिएको छ भने बाजुरा लगायत कतिपय स्थानमा एमालेलाई सहयोग गरेको छ । एक्लै प्रतिस्पर्धा गरेको स्थानमा भने माओवादीले सरकारको आलोचनाका साथै सुशासनको मुद्दा उठाएको छ । माओवादी नेतृत्वको सरकारले सुशासनमा ठूलो उपलब्धि हासिल गरेको र वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भन्दै माओवादी मतदाता रिझाउन तल्लिन छ ।

२६ स्थानमा उम्मेदवारी दिएको संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवार नभएका स्थानमा स्वतन्त्रलाई सघाउने भनेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेको भाष्यलाई नै मत माग्ने नाराकै रूपमा उसले प्रयोग गर्न खोजेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिका-१२ को अध्यक्षमा राप्रपाका उम्मेदवारलाई समर्थन गरेको छ । कांग्रेसले ४४ पदमध्ये ४३ पदमा र एमालेले ४० पदमा मात्र उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीले २१ र राप्रपाले ३६ स्थानमा उम्मेदवारी दर्ता गरेको छ । जसपा, जनमत लगायत दलहरूले आआफ्नै रणनीति अनुसार मत मागिरहेका छन् । सबै दलले निर्वाचनलाई दलहरूबीचको सद्भाव कायमै राखेर उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबी गरिरहेका छन् ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।

Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।

Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement