इलाम-२ मा किन बजेन रास्वपाको घण्टी ? यी हुन् चार कारण

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम-२ मा किन बजेन रास्वपाको घण्टी ? यी हुन् चार कारण

इलाम । इलामको २ को उपनिर्वाचनमा नेकपा एमालेलाई आफ्नो विरासत जोगाउने चुनौती थियो भने नेपाली कांग्रेसलाई निर्वाचन अगाडी गरेको गठबन्धनका कारण पार्टीलाई क्षति पुगेको प्रमाण जुटाउनु थियो । यसैगरी पहिचान पक्षधरलाई आफ्नो मुद्दा स्थापित गर्ने चुनौती थियो भने रास्वपालाई हामी नै हौ वैकल्पिक शक्ति भन्ने प्रमाणित गर्नु थियो । यहीकारण रास्वपाले आफ्नो भएभरको शक्ति लगाएर आक्रामक चुनावी प्रचार गरेको थियो । तर अपेक्षा गरेभन्दा रास्वपा मत परिणाममा निकै पछाडि परेको छ ।

चुनावी प्रचारका लागी इलाम पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोट माग्दै भन्नु भएको थियो, ‘आस्था आफ्नै पार्टीमा राख्नुहोस् । भोट हामीलाई  हाल्नुहोस्,’ तर जारी मत परिणाम भने उहाँले भने जस्तो आइरहेको छैन । बरु उहाँले भने भन्दा ठिक उल्टो आइरहेको छ । मतदाताले भोट आस्थाका आधारमै हालेको देखिरहेको छ ।

रास्वपा नेता सन्तोष परियार आफ्नो पार्टी मत परिणाममा पछाडि पर्नुको मुख्य चार कारण केलाउनु हुन्छ ।

पहिलो - राजनीतिक मुद्दामा अस्पष्टता

दोस्रो - विचारमा अस्पष्टता

तेस्रो - पार्टी संगठन र संरचना  निर्माण नगर्नु

चौथो - चुनावी रणनीति निर्माणमा चुक्नु

रास्वपाले २०७९ को आम निर्वाचनमा उत्साहपूर्ण मत प्राप्त गर्‍यो । गत वर्ष उपनिर्वाचनमा चितवनमा सभापति लामिछाने र तनहुँमा उपसभापति स्वर्णिम वाग्ले भारी मतसहित विजयी हुनु भयो । त्यो जितलाई नै रास्वपाले हरेक चुनाव जित्ने आधारका रूपमा लिएको थियो । तर इलामा २ मा भने भारी मतान्तरले पछाडि पर्‍यो । त्यसो त पर्साको उपनिर्वाचनमा पनि रास्वपाले हार चाख्नु परेको थियो । हरेक निर्वाचन आफैले जित्नुपर्छ भन्ने र हामी नै वैकल्पिक शक्ति हौ भन्ने भाष्य निर्माण गरेको रास्वपा इलामको उपनिर्वाचनमा प्रतिस्पर्धाको नजिक नै आइपुगेन । 

कतिपयले भने रास्वपाले भित्री रूपमा एमालेलाई सहयोग गरेको सम्मको अनुमान गरिरहेका छन् । नेकपा एमालेले सम्मानित रूपमा राखेका नेता सुभाष नेम्वाङको विरासत जोगाउन लागिपरेका अध्यक्ष केपी शर्मा ‌ओली कुनै पनि हालतमा यो निर्वाचन हार्न चाहनुहुन्थेन । 

यसकारण विश्लेषकहरू सरकारमा एमालेले कमजोर मन्त्रालय लिएर पनि शक्तिशाली मन्त्रालय सहित रास्वपा अध्यक्ष लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय दिलाउन खेलेको भूमिकाको गुण तिरिएको पनि बताइरहेका छन् । सरकारमा सामेल गराउँदा एमाले अध्यक्ष ओलीको उदारता र चुनावी सभामा एमाले प्रति रास्वपाको नरम बोलीको अर्थ पनि यसैसँग जोडिएको छ ।

एमाले प्रति नरम रहे पनि प्रचार प्रसारमा भने रास्वपाले आक्रामक शैली अपनाएको थियो । गत वर्ष तनहुँ र चितवनको उपनिर्वाचनमा प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता तथा मन्त्रीहरू आफ्ना उम्मेदवारलाई हराउन सबै लागेर प्रचारप्रसारमा जुटेको भन्दै रास्वपाले आलोचना गरेको थियो । तर अहिले इलाममा रास्वपाका सबै मन्त्री तथा पार्टीका सांसदहरू लर्को लागेर इलाम पुगेर प्रचारप्रसार गर्दा पनि भने जस्तो परिणाम आएन ।

अर्कोतर्फ सहकारी प्रकरणमा स्वयम सभापतिको नाम मुछिएकाले पनि पार्टीलाई हानी पुगेको अनुमान गर्न सकिन्छ । रास्वपाकै विश्लेषणलाई आधार मान्ने हो भने पनि उसको राजनीतिक मुद्दा र विचारमा अस्पष्टता छ । पार्टी संगठन र संरचना  विस्तार हुन सकेको छैन । तथा उ चुनावी रणनीति निर्माणमा चुकिरहेको छ । यस्तो अवस्थामा आफूलाई वैकल्पिक शक्तिका रूपमा घोषणा गरिरहेको दलले आगामी निर्वाचनमा अपेक्षित परिणाम ल्याउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.