काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भए पनि बारा निर्वाचन क्षेत्र नम्बर २ मा अधिकांश राजनीतिक दलले आचार संहिता विपरीत प्रचार प्रसार गरिरहेका छन् ।
आचारसंहिता विपरीतका प्रचार सामग्रीहरू प्रहरीले हटाए पनि आचारसंहिताका अन्य पक्षमा भने अनुगमन नै हुन सकेको छैन । बारा जिल्ला निर्वाचन क्षेत्र- २ मा तेलकुँवा भन्ने चोकमा मुख्य प्रतिस्पर्धामा रहेका सबै दलहरूको तुल र ब्यानर यहाँ झुन्ड्याइएका छन् । निर्वाचन आयोगले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो तर आचारसंहिताको पालना भने फितलो देखिएको छ । मुख्य सडक वरिपरि आचारसंहिता विपरीत झुन्ड्याइएका तुल, ब्यानर, पोस्टरहरू भने प्रहरीले हटाएको छ ।
दलहरूको भेला र जुलुसमा बालबालिकासमेत देखिएका छन् ।
आचारसंहिताले सरकारी निकायको स्रोत साधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न रोकेको छ । कतिपय पालिकाका गाडी नेता, कार्यकर्ताको ओसार-पसारमा प्रयोग भएका छन् । नेताहरूको लावालस्करमा सरकारी नम्बर प्लेटका गाडीसमेत देखिन्छन् । बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्नु पनि आचारसंहिताको उल्लंघन हो । तर दलहरूको भेला र जुलुसमा बालबालिकासमेत देखिएका छन् ।
उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत दुरुपयोग भइरहेको छ । कतिपय उम्मेदवारले नै आफ्ना प्रतिस्पर्धीमाथि व्यक्तिगत टिप्पणी गरेका छन् । प्रचार प्रसारमा दुई वटाभन्दा बढी गाडी प्रयोग गर्न पाइँदैन । तर, दलको प्रचार प्रसारमा उम्मेदवारकै अगाडि पछाडि कैयौँ गाडीहरू देखिएका छन् । त्यसै गरी उम्मेदवारको प्रचारका लागि चर्को आवाजमा स्पिकर बजाउने होडबाजी नै चलेको छ ।
बारामा उपनिर्वाचनमा भाग लिन २६ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । स्वतन्त्रसमेत गरी बारा २ मा ३४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।