उपनिर्वाचनका लागि अधिकांश दलले टुङ्गो लगाए उम्मेदवार

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचनका लागि अधिकांश दलले टुङ्गो लगाए उम्मेदवार

काठमाडौं । आगामी वैशाख १० मा तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि दलहरूले अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएका छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारको मनोनयन दर्ताको समय दिएको छ । चितवन १ मा सत्ता घटक दलबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्दै छन् । त्यस क्षेत्रबाट एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठ्दै छन् ।

तनहुँ १ मा सत्ताघटक दलबाट कांग्रेसलेनै उम्मेदवारी दिँदै छ । त्यहाँ गोविन्द भट्टराई उम्मेदवार हुँदा एमालेले सर्वेन्द्र खनाललाई उठाउने निर्णय गरेको छ । दुई दिनअघि कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउने भएको छ । बारा २ मा भने सत्ताघटक दलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएका छन् ।

यादव यसअघि सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुसवाहा उम्मेदवार बन्दै छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् ।

एमालेले भने यस क्षेत्रमा उम्मेदवार तोकिसकेको छैन ।

तीन निर्वाचन क्षेत्रमध्ये कांग्रेसले २ र जसपाले १ क्षेत्रमा उम्मेदवारी दिँदा सत्ताघटक अन्य दलले भने उम्मेदवारी नदिने भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.