प्रतिनिधिसभा निर्वाचन : गठबन्धनले कांग्रेसलाई फाइदा, एमाले खुम्चियो-रास्वपाको उदय

मंसिर १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचन : गठबन्धनले कांग्रेसलाई फाइदा, एमाले खुम्चियो-रास्वपाको उदय

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सबै १६५ सिटको टुंगो लागेको हो । देशभर एकैचरणमा निर्वाचन गरिएपनि केही मतदान केन्द्रमा भने धाँधली भएको उजुरी पछि पुनःमतदान गरिएको थियो । यसक्रममा दोलखा जिल्लाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान भएको थियो ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखाको मतगणनाको अन्तिम नतिजा सोमबार बिहान सार्वजनिक भएसँगै देशभरको प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएको हो ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७ सिट जित्दै पहिलो दल बनेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेस यसपटकको निर्वाचनमा एमालेलाई पछि पार्दै पहिलो दल बनेको हो । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्न सकेको थियो । २०७४ को निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको एमाले यसपटक भने ४४ सिटमा खुम्चिएको छ ।

यस्तै, माओवादी केन्द्र यस निर्वाचनमा १८ सिटमा सीमित भएको छ । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गर्दै पार्टी एकतासमेत गरेको माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । बाम लोकतान्त्रिक गठबन्धनबाट यसपटकको निर्वाचनमा माओवादीले सोचे जस्तो फाइदा उठाउन सकेन ।

तत्कालीन नेकपा फुटेर माओवादी र एमाले अलग भएपछि एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । पार्टी फुटेपछिको पहिलो निर्वाचनमै प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न भने असफल भएको छ । समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने सम्भावना न्यून हुँदा राष्ट्रिय पार्टीको मान्यता गुमाउने देखिएको छ ।

मधेस केन्द्रित दलको रुपमा उदय भएको जनता समाजवादी पार्टीले पनि यसपटकको निर्वाचनमा ठूलो क्षति व्यहोर्नु परेको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अलग अलग चुनाव लडे पनि निर्वाचन पछि पार्टी एकता गर्दै जनता समाजवादी बनेका थिए । तर, पार्टी भित्रको शक्ति संघर्षका कारण जसपा पनि यो निर्वाचन आउनुभन्दा केही महिना अघि फुट्ने सहमति गर्दै महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेको थियो । उपेन्द्र यादवले नेतृत्व गरेको जसपाले यस निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । जब कि २०७४ को निर्वाचनमा यादव नेतृत्वको संघीय समाजवादी फोरमले १० सिट जितेको थियो भने तत्कालीन राजपाले ११ सिट जितेको थियो । यी दुवै दल एकीकृत भएर समानुपातिकसहित संसदमा ३३ सिट लिएका थिए । पार्टी फुटको असर यी दुवै दलले यसपटकको निर्वाचनमा व्यहारेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्रै जितेको छ । यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ दलका रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिट जितेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटकको निर्वाचनमै प्रत्यक्षतर्फ ७ सिट जित्दै वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सफल देखिएको छ । यो पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएकाले राष्ट्रिय पार्टीका रुपमा समेत स्थापित भएको छ ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभाको यसपटकको निर्वाचनमा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.