बझाङमा एमाले : प्रत्यक्षतर्फ शून्य, समानुपातिकमा पहिलो

मंसिर ११, २०७९
बझाङमा एमाले : प्रत्यक्षतर्फ शून्य, समानुपातिकमा पहिलो

बझाङ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बझाङमा कुनै पनि सिट जित्न नसेको एमाले समानुपातिकतर्फ भने पहिलो दल भएको छ । निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम परिणाम अनुसार एमाले २३ हजार ३२७ मत ल्याएर पहिलो दल बनेको हो । 

प्रतिनिधिसभा निर्वाचनको लागि प्राप्त समानुपातिक मतमा नेपाली कांग्रेस जिल्लाको दोस्रो ठुलो दल भएको छ । एमालेसँग ३ हजार ३३४ मतले पछि परेको कांग्रेसले २० हजार ९३  प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । प्रत्यक्षतर्फ कांग्रेसले प्रदेशसभा सदस्यको एक सिट जितेको छ । 

प्रत्यक्षतर्फ प्रदेशसभामा एक सिट जितेको नेकपा माओवादी ८ हजार ५१६ मत सहित तेस्रो स्थानमा छ भने गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा विजय हासिल गरेको नेकपा एकीकृत समाजवादी पार्टी चौथो ठुलो दल बनेको छ । समाजवादीले प्रतिनिधिसभा तर्फको समानुपातिकमा ४ हजार ८ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बझाङमा प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ ६४ हजार ९४३ मत खसेको थियो । खसेको कुल मत मध्ये ३ हजार ९२३ मत बदर भएको छ । 

यस्तै प्रदेशसभातर्फको समानुपातिक मत परिमाणमा एमाले नै पहिलो दल बनेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेले २२ हजार २ सय ४ मत प्राप्त गरेको छ भने दोस्रो ठुलो दल बनेको नेपाली कांग्रेसले १६ हजार ६४३ मत प्राप्त गरेको छ । तेस्रो बढी मत प्राप्त गरेको नेकपा माओवादी केन्द्रले ७ हजार ९७५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ५७४ मत पाएको छ । 

प्रदेश सभा समानुपातिकको लागि खसेको कुल ६१ हजार १०३ मत मध्ये ३ हजार ८१६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिए ।