काठमाडौं ४ मा गगन थापा निर्वाचित, राजन भट्टराईको दोस्रो प्रयास असफल

मंसिर ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं ४ मा गगन थापा निर्वाचित, राजन भट्टराईको दोस्रो प्रयास असफल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । उनी २१ हजार ३०२ मत ल्याएर विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका थापाले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतले पराजित गरेका हुन् । एमालेका भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारसमेत रहेका डा. राजन भट्टराईले दोस्रो प्रयासमा पनि आफ्ना प्रतिस्पर्धी थापालाई पराजित गर्न सकेनन् । २०७४ को चुनावमा पनि थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो ।

कांग्रेस महामन्त्री थापा चौथो पटक सांसद बनेका छन् । प्रत्यक्षतर्फ उनको यो तेस्रो जित हो । पहिलो संविधानसभा २०६४ मा उनी समानुपातिक सांसद् थिए । २०७० को दोस्रो संविधानसभा र २०७४ को आम निर्वाचनमा उनी काठमाडौं ४ बाटै निर्वाचित भएका थिए ।

महामन्त्री थापाले सांसद जितेपछि प्रधानमन्त्रीका लागि नेपालीका कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.