काभ्रेका ९१ विद्यालयमा ५२ करोडभन्दा बढी बेरूजु

भूकम्पपछिको निर्माणमै सबैभन्दा धेरै अनियमितता
फाल्गुन १, २०८२ |पुजन धिताल
काभ्रेका ९१ विद्यालयमा ५२ करोडभन्दा बढी बेरूजु

काभ्रे । काभ्रे जिल्लाका ९१ वटा विद्यालयको बेरूजु ५२ करोडभन्दा धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाईले निर्माण थालेका विद्यालय भवन रकम अभावले अधुरै रहँदा करोडौं बेरूजु छाडेर जिल्लास्थित कार्यालय खारेज भइसकेको हो । बेरूजु फर्छ्याैटका लागि ताकेता भइरहे पनि विद्यालयहरूले यसलाई गम्भीरतापूर्वक लिएका थिएनन् । 

यसअघि कान्तिपुर टेलिभिजनले लगातार समाचार प्रसारण गरेसँगै शिक्षा समन्वय इकाईले बेरूजु फर्छ्याैट गर्न विद्यालय र स्थानीय तहलाई परिपत्र गर्दै वस्तुगत अवस्था संककल थालेको छ । जिल्ला शिक्षा समन्वय इकाई काभ्रेको तथ्यांकअनुसार जिल्लाका सरकारी विद्यालय २०६० साल पछिको बेरूजु ५२ करोडभन्दा धेरै छ । 

२०७२ सालको भूकम्पपछि २०७८ सालसम्म सरकारी विद्यालयको भौतिक निर्माणमा नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा ७ अर्ब ६६ करोडभन्दा बढी खर्च भएको तथ्यांकमा देखिन्छ । जिल्ला शिक्षा समन्वय इकाईले विद्यालयको बेरूजुमध्ये सबैभन्दा धेरै सोही समयमा भएको जनाएको छ । कार्यालयका अनुसार निर्माणतर्फको बेरूजु ४८ करोड ७ लाख र अन्य बेरूजु ३ करोड १४ लाख ५१ करोड २५ लाखभन्दा बढी रहेको छ ।

जिल्लाका १३ स्थानीय तहमै बेरूजु रहेका विद्यालय छन् । अहिले दाखिला भएको पाँच विद्यालयको बेरूजु विभिन्न भौतिक संरचना निर्माण र मर्मतसाग सम्बन्धित छ । महाभारत गाउँपालिका-१ मा रहेको गोकुले माविको भवन २०७८ सालमा सम्झौता भए पनि समयमै निर्माण सम्पन्न हुन सकेको छैन ।

यता वडा न ८ मा रहेको जनकल्याण मावि घर्तिछापमा प्रदेश सरकारको लागतमा निर्माण थालिएको विद्यालय भवन पनि सम्पन्न नहुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक हेम आले बताउनु हुन्छ । महाभारत गाउँपालिकाका १३ वटा विद्यालयको बेरूजु वि.स २०६० पछिको ३ करोड ९८ लाख रहेको तथ्यांक छ । 

भूकम्पपछि निर्माण थालिएका तीन विद्यालय अलपत्र पर्दा बेरूजु देखिएको छ । समन्वय समितिको निरन्तरको ताकेताले यसअघि काम छाडेका केही निर्माण व्यवसायी पुनः काममा फर्किएका छन् । बेरूजु फर्छ्याैटमा स्थानीय सरकारले नै समन्वय गरेर विकास निर्माणका काममा ताकेता गर्न सके सरकारी र गैरसरकारी निकायको लगानीमा सञ्चालित आयोजना समयमै सम्पन्न भएर नागरिकले सहजै सेवा पाउनेतर्फ सबैको ध्यान जान जरूरी छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।