काठमाडौं । १४ वर्ष उमेर पूरा नभइ माध्यमिक शिक्षा परीक्षा-एसईई दिन नपाइने भएको छ ।
शिक्षा मन्त्रालयले चार वर्षअघि लागू गरेको एसईई सहभागी हुने विद्यार्थीको उमेरसम्बन्धी थ्रेसहोल्ड संशोधन गरी १४ वर्ष उमेर पूरा नभइ एसईई दिन नपाइने व्यवस्था गरेको हो । यो व्यवस्था यसै वर्षको एसईईदेखि लागू हुनेछ । विद्यार्थीहरूले १२ कक्षा पास गरे पनि १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।
शिक्षा मन्त्रालयले २०७८ सालमा शिक्षा नियमावली संशोधन गरी एसईईमा सामेल हुन विद्यार्थीको उमेर १४ वर्ष हुनुपर्ने प्रावधान हटाइएको थियो । त्यसयता १४ वर्ष उमेर नपुगेकाहरूले पनि परीक्षा दिँदै आएकोमा यस वर्षदेखि १४ वर्ष उमेर पूरा हुनैपर्ने व्यवस्था लागू गरिएको हो ।
जन्मदर्ता बनाउँदा उमेर घटाएकाहरूको सन्दर्भमा भने स्थानीय पन्जिकाधिकारीको कार्यालयबाट उमेर सच्याएर परीक्षा दिनसक्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो व्यवस्था गृह मन्त्रालयमार्फत एक पटकका लागि मात्र भएको बोर्डको भनाइ छ ।
एसईईमा उमेरको थ्रेसहोल्ड हटाइएयता कतिपय विद्यार्थीहरूले १५ वर्षमै कक्षा १२ पुरा गर्ने गरेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले १६ वर्ष पुरा नभएका विद्यार्थीलाई प्रमाणपत्र दिने गरेको छैन । जसले गर्दा हालसम्म झन्डै २ सय विद्यार्थीले प्रमाणपत्र पाएका छैनन् । १६ वर्ष उमेर पूरा नहुँदा प्रमाणपत्र पाउन समस्या हुने गरेपछि मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत उमेरसम्बन्धी व्यवस्था संशोधन गरेको हो ।
शिक्षा नियमावलीले पाँच वर्ष उमेर पुरा नभएकालाई कक्षा १ मा भर्ना नगरिने व्यवस्था गरेको छ । सोहीअनुसार १४ वर्ष उमेरपूरा भएपछि मात्र एसईई दिन पाउने व्यवस्था लागू गरिएको हो ।