काठमाडौं । सामुदायिक विद्यालयको प्रारम्भिक कक्षा अर्थात् इसीडीमा भर्नादेखि पठनपाठनसम्मै नि:शुल्क छ ।
सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । इसीडीका लागि भनेर बर्सेनि अर्बौं बजेट छुट्याइन्छ । तर यही इसीडीमा विद्यार्थी घट्दै गएका छन् । गत वर्षको तुलनामा यस वर्ष इसीडीमा ४० हजार विद्यार्थी घटेको सरकारकै तथ्यांकले देखाएको छ ।
शिक्षा मन्त्रालयका अनुसार देशभर ३० हजार ६ सय २३ सामुदायिक विद्यालयमा बालविकास केन्द्र-इसीडी सञ्चालनमा छन् । तिनमा हरेकमा एक जनाका हिसाबले ३० हजार ६ सय २३ सहजकर्ता अर्थात् शिक्षक छन् । तर विद्यार्थी भने मुस्किलले ५ लाख ६१ हजार छन् भने विद्यार्थी पनि बर्सेनि घट्दै गएका छन् ।
गत वर्ष ६ लाख विद्यार्थी भर्ना भएकामा यसपाली ५ लाख ६१ हजारमात्र भर्ना भए । जबकि ८ हजार २ सय निजी शिक्षण संस्थाका बालविकास केन्द्रमा ६ लाख ५९ हजार बालबालिका भर्ना भएका छन् । सरकारी विद्यालयमा किन घटे त विद्यार्थी ?सामुदायिक विद्यालयका इसीडीमा भर्नादेखि पठनपाठनसम्मै नि:शुल्क छ ।
दिवा खाजाका लागि भनेरै सरकारले ८ अर्बभन्दा बढी ठूलो बजेट छुट्याउने गरेको गरेको छ । तर विद्यार्थीको आकर्षण भने छैन । सामुदायिक विद्यालयप्रति समाजले हेर्ने दृष्टिकोण नै फरक हुने भएकाले पनि अभिभावकले सन्तानलाई प्रारम्भिक बालविकास केन्द्रमा भर्ना गर्न रूची देखाउँदैनन् ।
अर्कोतर्फ मंहगो शुल्क तिर्नुपरे पनि गुणस्तरीय शिक्षाको आशामा अभिभावकले निजी बालविकास केन्द्रमै भर्ना गर्ने गरेका छन् । सरकारले प्रारम्भिक बालविकास केन्द्रका लागि बर्सेनि अर्बैं बजेट खन्याउँदै आए पनि लगानी अनुसारको प्रतिफल आउन सकेको छैन । सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्ष सुधार गर्दै शिक्षकहरूलाई पनि जिम्मेवार बनाउन सके यसप्रति आकर्षण बढ्न सक्थ्यो कि ?