काठमाडौं । शिक्षकहरू अध्ययन विदामा बस्ने, सबै सुविधा पनि लिने तर सेवामा नफर्कने प्रवृत्तिले हैरान भएपछि त्रिभुवन विश्वविद्यालयले त्यस्ता शिक्षकहरूलाई कारबाही गर्न थालेको छ । विश्वविद्यालयले त्यस्ता शिक्षकबाट हालसम्म १ करोड ६७ लाख रूपैयाँ असुलिसकेको छ ।
अरूलाई अनुशासन र नैतिकता सिकाउने शिक्षककै अनुशासनहीन र बदमासीले विद्यार्थीको अध्ययन-अनुसन्धानदेखि शैक्षिक गतिविधि प्रभावित हुन थालेपछि त्रिविले कारबाहीको डण्डा चलाउन थालेको हो ।
शिक्षकहरूले वृत्ति विकासका लागि भन्दै अध्ययन बिदा लिने, सबै सुविधा पनि लिने तर अध्ययन पुरा भएपछि सेवामा नफर्कने प्रवृत्तिले यतिखेर त्रिवि हैरान छ । केन्द्रीय क्याम्पस, विभाग र ६२ वटा आंगिक क्याम्पसका ४ सयभन्दा बढी शिक्षक-कर्मचारीहरू थप अध्ययनका भन्दै विदेशिए, तर फर्किएनन् ।
बिदा अवधिको सेवा सुविधा लिएका ती शिक्षक-कर्मचारी बिदा सकिएको वर्षौं वितिसक्दा पनि नफर्किएपछि त्रिविले कारबाही थालेको छ । त्यस्ता शिक्षक-कर्मचारीको पारिश्रमिकको १० प्रतिशत ब्याजसहित असुल उपर गर्न थालेको त्रिविले हालसम्म चार शिक्षकबाट मात्र १ करोड ६७ लाख रूपैयाँ असुल उपर गरिसकेको छ ।
अध्ययन विदा बसेर नफर्केका शिक्षक-कर्मचारीको खोज समितिले १ सय ८७ जना अध्ययन विदा सकिए पनि नफर्किएको र २ सय १३ जनाले शैक्षिक उपाधिको प्रमाणपत्र पेस गर्न नसकेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको थियो ।
यसरी अध्ययन विदा लिएकामध्ये ९५ प्रतिशत शिक्षकहरू विदेशमै लुकेर बसेको विश्वविद्यालयको भनाइ छ । त्यतिमात्र होइन अध्ययन विदाका नाममा सबै सेवा सुविधा लिने तर अध्ययन पुरा गर्न नसकेकालाई कुनै कारबाही नगरी छुट दिने गरिएपछि त्रिविमा प्राज्ञिक र शैक्षिक बेथिति बढेको विज्ञको बुझाइ छ ।
त्यसो त अध्ययन बिदा लिने बेलामा त्रिविले शिक्षक-कर्मचारीलाई फर्किने कवूलनामासमेत गराएको हुन्छ । तर उनीहरू राम्रो आयआर्जनको लोभमा विदेशमै बस्ने गरेका छन् ।
यस्तालाई कारबाही गरी २ अर्ब ५० करोड रूपैंयाँभन्दा वढी असुलउपर गर्ने लक्ष्य त्रिविले बनाएको छ । ५ वर्षको अध्ययन विदाको दुरूपयोग गरी नफर्केकाबाट २० लाखदेखि ५० लाख रूपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने देखिएको विश्वविद्यालयले जनाएको छ ।
अझ कतिपयले उनीहरुको बदमासीबारे विदेशमा अहिले काम गरिरहेको संस्थामा सुचित गराएर अयोग्य घोषित गर्नुपर्ने सुझाव समेत दिएका छन् । थप वृत्ति विकासका लागि अध्ययन बिदा लिनु सकारात्मक हो । तर त्रिविले दिएको यो सुविधाको दुरूपयोग गरी अनुशासनहीन र नैतिकताविपरीतको कार्य गर्ने शिक्षकलाई कारवाही त गर्नै पर्छ ।