सल्यान । जिल्लामै प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएका सल्यानका प्राविधिक धारका कक्षाहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
जिल्लामा सीटीईभीटी, आंगिक तथा विभागिय मान्यता प्राप्त एक निजीसहित १६ वटा प्राविधिक धारका कक्षा सञ्चालनमा छन् । तर विद्यार्थी अभावका कारण केही धारहरू बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । सीटीईभीटीबाट मान्यता पाएका ५ विद्यालयमा त विद्यार्थी भर्ना नै नभएर पठनपाठन रोकिएको छ ।
प्राविधिक शिक्षा दिई विद्यार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यले २०७५ सालमा सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरियो । सीटीईभीटीको आंगिक शिक्षालयका रूपमा स्थापना भएको यस संस्थामा सुरुका वर्षहरूमा बाहिरी जिल्लाबाट पनि विद्यार्थी अध्ययन गर्न आउाथे । तर पछिल्ला दुई वर्षमा विद्यार्थी संख्या घटेको छ ।
४८/४८ जनाको कोटा रहे पनि यस वर्ष सिभिल इन्जिनियरिङमा १९ जना र भेटेरिनरीमा १६ जनाले मात्र आवेदन दिएका छन् । भर्ना अभियान चलाइए पनि विद्यार्थी नपाएपछि शिक्षालय नेतृत्व निराश छ ।
२०६९ सालदेखि शारदा नगरपालिका-१ शिवजन मावि शीतलपाटीमा सीटीईभीटीबाट सम्बन्धन लिई तीन वर्षे डिप्लोमा अन्तर्गत आईएससी एजी, वन विज्ञान, कृषि जेटीए र भेटेरिनरी जेटीए कार्यक्रम सञ्चालन गरियो । तर विद्यार्थी नपाएकाले दुई वर्षयता तीन वर्षे कार्यक्रम बन्द छ ।
यस वर्ष १८ महिने कृषि जेटीएमा १० र भेटेरिनरी जेटीएमा ११ जनाले मात्र आवेदन दिएका छन् । सीटीईभीटीअन्तर्गत बालीविज्ञान र पशुविज्ञान कार्यक्रम चलाएको शारदा मावि शंखमूलले पनि दुई वर्षदेखि भर्ना लिनसकेको छैन ।
सल्यानमा सञ्चालनमा रहेका १६ प्राविधिक धारमध्ये ८ वटा कक्षा ९ देखि १२ सम्मका छन् । जसलाई शिक्षा विभागले मान्यता दिएको छ । बाँकी ६ विद्यालय सीटीईभीटीको सम्बन्धन प्राप्त हुन् ।
यीमध्ये ५ विद्यालयमा विद्यार्थी अभावका कारण पठनपाठन बन्द छ । यस्तै, सीटीईभीटीअन्तर्गतको एक निजी र एक आंगिक शिक्षालयमा पनि विद्यार्थी पाउन मुस्किल छ । शिक्षा विभागअन्तर्गतका कक्षा ९-१२ का धारहरूसमेत विद्यार्थी संख्या घट्दो क्रममा छ ।
प्राविधिक धारमा विद्यार्थी बढाउन पढ्दै कमाउँदै कार्यक्रम चलाइए पनि परिणाममुखी देखिएको छैन । सरोकारवालाका अनुसार, सीटीईभीटी र शिक्षा विभागले योजनाविनै मान्यता दिनु र एकै खालका कार्यक्रम सञ्चालन गर्नु, रोजगारीको ग्यारेन्टी नहुनु र वैदेशिक रोजगारीतर्फको आकर्षणले भर्नादर घटेको हो ।
विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका यी प्राविधिक धारका कक्षाको निरन्तरताका लागि छात्रवृत्तिको व्यवस्था, प्रचार-प्रसार र रोजगारीसँग जोड्ने पहल आवश्यक देखिएको छ ।