एसईईमा ४ जीपीए ल्याउनेलाई ललितपुर महानगरबाट दुई लाख पुरस्कार

श्रावण ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एसईईमा ४ जीपीए ल्याउनेलाई ललितपुर महानगरबाट दुई लाख पुरस्कार

काठमाडौं । ललितपुर महानगरपालिकाले २०८१ सालको एसईईमा चार जीपीए ल्याउने विद्यार्थीलाई जनही दुई लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ । महानगरपालिकाले उत्कृष्ट विद्यालयलाई सम्मानसमेत गरेको छ ।

ललितपुर महानगरपालिकाले शुक्रबार एक कार्यक्रम गरी २२ वटा संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने ७८ जना विद्यार्थीलाई जनही दुई लाख रूपैयाँसहित सम्मान गरेको हो । 

त्यसैगरी ६ वटा सामुदायिक विद्यालयबाट ३ दशमलव ९५ वा त्यसभन्दा बढी जीपीए ल्याउने ८ जना विद्यार्थीलाई पनि जनही दुई लाख रूपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । 

महानगरपालिकाले उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीका बाबु र आमालाई समेत सम्मान गरेको छ । महानगरपालिकाले गुणस्तरीय शिक्षा दिने विद्यालय र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदसहित सम्मान गर्ने गरेको हो । पुरस्कारको व्यवस्थाले शिक्षामा सुधार आएको दाबी महानगरपालिकाले गरेको छ ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने ६ वटा सामुदायिक विद्यालयलाई ४-४ लाख पुरस्कार प्रदान गरियो । यस्तै निजी विद्यालयलाई पनि सम्मान गरियो । गत वर्ष महानगरपालिकाले चार जीपीए ल्याउने १४ जनालाई र अघिल्लो वर्ष ४ जनालाई सम्मानसहित पुरस्कार प्रदान गरेको थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताउनुभयाे । उहाँले भन्नुभया, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ 

कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको उहाँले प्रष्ट पार्नुभयाे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताउनुभयाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.