रूपन्देही । आफूले माया गरेर हुर्काएका सन्तान बिदाइ गरेर पठाउनुपर्दा बाबुआमाले कस्तो अनुभव गर्छन् ? यही अनुभव गरे आज संरक्षणकर्मी, सरकारी अधिकारी र सर्वसाधारणले ।
चितवनको खोर-सोरस्थित हात्ती प्रजनन् केन्द्रमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतारका लागि बिदाइ गर्दा उपस्थित सबै भावुक भए । वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र त भन्दै हुनुहुन्थ्यो- 'छोरी अन्माएजस्तै भयो ।' सबैले कामना गरे-खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखद बास होस् र सन्तान वृद्धि होस् । र, सबैले दुवैलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरे ।
नेपाल सरकारले उपहारस्वरूप दिएका दुई हात्ती बुधबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेका छन्। कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटरमार्फत साँझ ५ः२५ बजे हात्तीहरू उडेका हुन्।
कतार जाने हात्तीहरूमा ६ वर्षे भाले खगेन्द्रप्रसाद र सात वर्षे पोथी रुद्रकली रहेका छन्। दुबै हात्तीलाई मंगलबार बिहान चितवनबाट भैरहवा ल्याइएका थिए। हात्तीहरूसँगै एक जना पशु प्राविधिक तथा दुई जना माउते पनि कतार प्रस्थान गरेका छन्।
रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू केही समय कतारमै बसेर हात्तीहरूको रेखदेख गर्नेछन्। साथै, उनीहरूले त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहार-सुसारसम्बन्धी आवश्यक तालिम पनि दिनेछन्।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। सांस्कृतिक तथा कूटनीतिक उपहारका रूपमा दिइएका यी हात्तीले नेपाल-कतारबीचको मित्रता र आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
यसअघि जहाज पौने ११ बजे भैरहवा अवतरण गर्ने तालिका रहे पनि बाक्लो कुहिरोका कारण भारतको कोलकाता डाइभर्ट गरिएको थियो। त्यसपछि जहाज दिउँसो ३ बजेपछि मात्र भैरहवा अवतरण गरेको थियो। भैरहवाबाट उडेको जहाज करिब ४ घन्टामा कतार पुग्ने विमानस्थल प्रशासनले जनाएको छ।
बिहीबार कतारको राष्ट्रिय दिवसको अवसरमा यी हात्तीलाई विशेष सम्मानका साथ स्वागत गर्ने तयारी कतारले गरेको छ।