सिटीईभीटीअन्तर्गतका कोर्षमा आकर्षण घट्दो, २७ हजार सिटमा ४ हजारको मात्रै आवेदन पर्दा कार्यक्रम नै बन्द हुने अवस्था

रोजगारीको अनिश्चय र विदेश मोह मुख्य कारण
श्रावण २१, २०८२ |नारायण किलम्बू
सिटीईभीटीअन्तर्गतका कोर्षमा आकर्षण घट्दो, २७ हजार सिटमा ४ हजारको मात्रै आवेदन पर्दा कार्यक्रम नै बन्द हुने अवस्था

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सीटीईभीटीअन्तर्गतका प्राविधिक शिक्षामा भर्ना लगातार घट्दै गएको छ ।

सीटीईभीटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल, आर्किटेक्चर, कम्प्युटर, इन्जिनियरिङ र कृषि शिक्षा अध्ययनका लागि १९ प्रतिशत सिटमा मात्र विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । 

यसले शैक्षिक संस्था सञ्चालकहरू निराश भएका छन् भने कतिपय संस्था शैक्षिक कार्यक्रम नै बन्द गर्नुपर्ने स्थितिमा पुगेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्-सीटीईभीटीको आंगिक क्याम्पस काठमाडौंस्थित शंखरापुर शिक्षालयमा यस वर्ष सिभिल, जियोमेट्रिक र अटोमोबाइलमा ८-८ जना, हाइड्रोपावरमा २ र आर्किटेक्चरमा एक जनामात्र विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । 

जबकि यी प्रत्येक विषयको कोटा नै ४८-४८ जनाको हो । सीटीईभीटीको नियमअनुसार कार्यक्रम सञ्चालनका लागि कूल कोटाको २५ प्रतिशत विद्यार्थी भर्ना हुनुपर्छ । तर निकै न्युन विद्यार्थीले आवेदन दिएपछि शिक्षालय नेतृत्व नै निराश बनेको छ ।

इन्जिनियरिङ र कृषि शिक्षा अध्यापन हुने सिटीइभिटी अन्तरगर्तका ७ सय ७१ शिक्षालयमा २७ हजार भर्ना क्षमता छ, तर ४ हजार अर्थात् करिब २० प्रतिशतले मात्र आवेदन दिएका छन् । 

त्यसमध्ये डिप्लोमा इन्जिनियरिङ्मा १९ हजार कोटामा ३१ सय अर्थात् १८ प्रतिशत र कृषितर्फ ८ हजार कोटाका लागि १ हजार ३० जना अर्थात् ११ प्रतिशतले मात्र फारम भरेका छन् । 

आंगिकमात्र होइन निजीमा पनि अति न्यूनमात्र आवेदन परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल सम्हाल्दा पहिलो निर्णय नै प्राविधिक शिक्षा गाउँका दुरदराजसम्म पुर्याइ सीपयुक्त जनशक्ति तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । तर अहिले अवस्था यस्तो छ कि, गाउँ होइन, शहरमै समेत विद्यार्थी खोज्नुपर्ने भएको छ ।

प्रधानमन्त्रीले गाउँ गाउँमा प्राविधिक शिक्षा पुर्याउने निर्णय गरेपछि हचुवाका भरमा जताततै सम्बन्धन खोलियो । तर विदेशिने विद्यार्थी स्वदेशमै टिकाउने खालको कुनै कार्यक्रम नल्याउँदा अहिले सम्बन्धन पाएका शिक्षालयहरु विद्यार्थी नपाएर हैरान छन् । 

शैक्षिक संस्था बढे पनि विद्यार्थी घट्दै गएपछि इन्जिनियरिङ, कृषिजस्ता कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालकहरू बताउँछन् । प्राविधिक शिक्षाको गुणस्तर खस्कँदै जानु, महंगो शिक्षा हासिल गरे पनि रोजगारीका अवसर नपाउनु, कक्षा १२ पछि धेरै विद्यार्थीको चाहना विदेशतिर हुनु, उद्योग र बजारको आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण नहुनुले पनि विद्यार्थीको रूची घट्दै गएको विज्ञको बुझाइ छ । 

अझ सीटीइभीटीको प्राविधिक शिक्षापछि उच्चशिक्षामा सहजै अवसर नपाउने अवस्था छ भने सीटीईभीटी पढेका ४८ प्रतिशतले रोजगारीका अवसर पाउन नसकेको सरकारी तथ्यांक छ। यसले मुलुकको समग्र प्राविधिक शिक्षामै पुनसंरचनाको आवश्यकता देखिएको विज्ञको भनाइ छ ।

सीटीइभीटीको प्राविधिक शिक्षामा विद्यार्थीको रूची घट्दै जाँदा भोलिका दिनमा प्राविधिक जनशक्तिको अभाव हुने जोखिम बढेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।