दाङ । दाङमा डढेलोको जोखिम कम गर्न वनको पातपतिङ्गरलाई सदुपयोग गरेर कम्पोस्ट मल बनाउन थालिएको छ । वनमा डढेलो फैलाउन भूमिका खेल्ने पातपतिङ्गर संकलन गरेर सरकारी स्तरबाटै कम्पोस्ट मल बनाउन थालिएको हो ।
सामुदायिक वनलाई यस अभियानमा जोड्दै डढेलोको जोखिम घटाउन मद्दत पुग्ने विश्वास छ ।
दाङको लमहीस्थित पूर्वपश्चिम राजमार्गको छेउमै छ अजम्बरी सामुदायिक वन । गर्मी याममा वनमा डढेलोको अत्ति नै जोखिम छ । सामुदायिक वनले वन क्षेत्रभित्रै जैविक विविधता पार्क सञ्चालन गरेको छ । पहिले पार्कलाई चाहिने कम्पोस्ट मल बाहिरबाट किनेर ल्याउनुपर्थ्यो । तर गत वर्षदेखि त्यसै खेर जाने पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन थालिएको छ । गर्मीमा सुकेका पातपतिङ्गर र वनमा मिचाहा प्रजाति बढ्दै जाँदा डढेलोको जोखिम बेहोर्नुपर्ने भएकाले त्यसको सदुपयोग गर्दै कम्पोस्ट मल बनाउन थालिएको हो ।
वन क्षेत्रमा रहेका पातपतिङ्गरले नयाँ बिरुवा उम्रिन र हुर्कन अवरोध गरिरहेका हुन्छन् । वनमा मिचाहा प्रजाति बढ्दै जाँदा नयाँ बिरुवा उम्रन र हुर्कन समेत पाएका हुँदैनन् । सुकेर खेर जाने, डढेलोको जोखिम बढाउने पातपतिङ्गरलाई हरिया पातपतिङ्गर मिसाएर व्यवस्थापन गर्दै कम्पोस्ट मल बनाउन थालिएको हो । डिभिजन वन कार्यालय देउखुरीसँगको सहकार्यमा नमुनाको रूपमा अघिल्लो वर्षदेखि यो काम अघि बढेको हो ।
अब पार्कमा आवश्यक पर्ने मलको माग आफैंले उत्पादन गरेको मलले धान्ने वन समूहको विश्वास छ । गत वर्ष उत्पादन भएको कम्पोस्ट मल सबै पार्कमा खपत भएको र यस वर्ष केही बढी भएको मल बाहिर बिक्री गर्ने योजना छ । यसरी उत्पादन गरिएको कम्पोस्ट मलले किसान, माटो र वातावरण सबैलाई फाइदा पुग्ने कृषि क्षेत्रका जानकार बताउँछन् ।
वनमा खेर जाने पातपतिङ्गर र मिचाहा प्रजातिलाई सदुपयोग गरेर वन क्षेत्रमा बर्सेनि हुने डढेलोको जोखिम कम गर्न अजम्बरी सामुदायिक वनले थालेको प्रयोग अनुकरणीय छ ।