काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको आज सम्पन स्ववियु निर्वाचनको मतगणना जारी छ । ५५ प्रतिशत मतगणना हुँदासम्म अध्यक्षमा अनेरास्ववियुका सिद्धान्त भट्टले अग्रता लिनुभएको छ ।
६ हजार १४६ विद्यार्थी मतदाता रहेको स्ववियु निवार्चनमा ३ हजार ११८ अर्थात् ५०.१७ प्रतिशत मत खसेको विश्वविद्यालय क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले जानकारी दिनुभयो । ११ वटा विद्यार्थी संघ, संगठन र समूह चुनाव प्रतिस्पर्धामा सहभागी निर्वाचनमा १७ वटा विद्युतीय भोटिङ मेसिन मार्फत मतदान भएको थियो । बिहान ८ देखि ४ बजेसम्म भएको मतदान सम्पन्न भए लगतै मध्याह्न साढे ५ बजेबाट मतगणना सुरु भएको हो ।
निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियु तालमेल गरी उम्मेदवारी दिएका छन् भने नेविसंघ, अखिल क्रान्तिकारी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । निर्वाचित टिमले विद्यार्थीको हकहित र गुणस्तरीय उच्चशिक्षालाई प्राथमिकता दिनुपर्ने विद्यार्थीको भनाइ छ ।
विद्यार्थी संघ-संगठनहरूबीच आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन आज भएको हो ।