नयाँ क्याम्पसलाई सम्बन्धन नदिने विश्वविद्यालयहरूको तयारी

पुस १६, २०८१ |नारायण किलम्बू
नयाँ क्याम्पसलाई सम्बन्धन नदिने विश्वविद्यालयहरूको तयारी

काठमाडौं । विद्यार्थीको संख्या कम भएर क्याम्पसहरू नै बन्द हुने अवस्था आएपछि संघीय विश्वविद्यालयहरूले नयाँ सम्बन्धन नदिने निष्कर्ष निकालेका छन् । अहिले सञ्चालित ५०५ वटा क्याम्पसमा एक सयभन्दा कम विद्यार्थी छन् । यी क्याम्पस सञ्चालन गर्नै धौ–धौ परेपछि संघीय विश्वविद्यालयहरू नयाँ सम्बन्धन नदिन सहमत देखिएका हुन् ।

विश्वविद्यालय अनुदान आयोगको मंगलबारको बैठकमा विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दबाब र पहुँचका आधारमा जथाभावी सम्बन्धन दिँदा समस्या भएको निष्कर्ष निकालेका छन् । आधुनिक शिक्षा र रोजगारीका अवसर नहुँदा नेपालबाट बर्सेनि एक लाख १५ हजारभन्दा बढी विद्यार्थी विदेशिने गरेका छन् । अर्कोतर्फ जन्मदर घट्दै गएको छ । यसले विद्यालयदेखि विश्वविद्यालयसम्म भर्ना हुनेको संख्या घट्दो छ । देशभरका ५०५ वटा क्याम्पस त बन्द हुने अवस्थामा पुगेको भन्दै शिक्षामन्त्री समेत उपस्थिति विश्वविद्यालय अनुदान आयोगले गरेको बैठकमा उपकुलपतिहरू अबदेखि नयाँ संस्थालाई सम्बन्धन नदिने निष्कर्षमा पुगेका हुन् ।

“अब नयाँ सम्बन्धन नदिने र कार्यक्रमहरू थप्नुपर्‍यो भने पनि जसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको प्रमाणपत्र पाएको छ तिनीहरूलाई मात्र कार्यक्रम थप गर्ने भन्ने स्पष्ट कुरा मन्त्रालयको निर्देशनबाट आएको छ”, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले बताउनुभयो ।

अहिले देशमा १४ वटा संघीय विश्वविद्यालय, विश्वविद्यालय सरह मान्यता पाएका सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ६ वटा प्रदेश विश्वविद्यालयका गरी १४ सय ३२ शिक्षण संस्थाले उच्चशिक्षा अध्ययन गराउँदै आएका छन् । विश्वविद्यालयहरू गुणस्तर प्रत्यायण अर्थात् क्यूएए प्राप्त शिक्षण संस्थालाई मात्र नयाँ कार्यक्रम थप गर्न समेत सहमत भएका छन् । शिक्षा मन्त्रालयले पनि नेपालको उच्चशिक्षा गुणस्तरीय बनाउन र विश्वबजारको माग अनुरूपको शैक्षिक कार्यक्रम बनाउन सुझाव दिएको छ ।

नयाँ संस्था विस्तार गर्नु गाह्रो छैन तर यसलाई टिकाई राख्न र विद्यार्थी बढाउन चुनौती छ । एकातिर उच्चशिक्षा प्रदायक संस्थाहरूको नियमन र अनुगमन हुन सकेको छैन भने अर्कोतिर गुणस्तर समेत खस्किँदै गएको छ । साथै, विद्यार्थी अभावका बीच अहिले पनि कतिपय विश्वविद्यालयका पदाधिकारीहरू आर्थिक प्रलोभनमा परेर नयाँ सम्बन्धन दिने गरेको आरोप लाग्दै आएको छ । अब विश्वविद्यालयहरूले नयाँ सम्बन्धन मात्र नभएर कार्यक्रम विस्तारमा समेत कडाइ गर्ने भएपछि क्याम्पसको अवस्था मात्र होइन, शैक्षिक गुणस्तर बढाउन समेत सहयोग पुग्न सक्छ ।

सम्बन्धित समाचार :

विद्यार्थी अभावमा देशभरका क्याम्पस रित्तिँदै, ५ सय ५ क्याम्पस बन्द हुने अवस्थामा


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement