गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरूमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताउनु भयो । उहाँले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दै गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष रूपले व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

उहाँले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बीचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । ‘कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११/१२ लाख हुन्छन् । एसईईसम्म आउँदाखेरि ५ लाख हुन्छ । एक त सात लाख विद्यार्थीहरू बाटोमै हराएका हुन्छन् । अहिले आएर सबभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार फेल भएका छन्,’ उहाँले भन्नुभयो, ‘नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ । म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु ।’

प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण पनि उहाँले गराउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.