अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ । शिक्षा व्यवहारिक हुन सकिरहेको छैन । शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रूपबाट विकास गरेको छैन,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भई प्राकृतिक श्रोत साधनहरूको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको समयानुसारको पाठ्यक्रमहरू निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनोपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसाबबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरूलाई सिकाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.