सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयले प्राध्यापक बिजुकुमार थपलियालाई नयाँ उपकुलपतिको रुपमा पाएको छ । बाहिरबाट नेतृत्वमा आएका पदाधिकारीले दीर्घकालीन प्रभाव पार्ने कामभन्दा तात्कालिक फाइदाका लागि मात्र काम गर्ने गरेको आरोप लागिरहँदा विश्विद्यालय भित्रैबाट थपलियाको नियुक्ति भएको छ ।
उपकुलपति, रजिस्ट्रार, डिनलगायत नेतृत्वमा बाहिरबाट नियुक्त हुने पदाधिकारीले विश्वविद्यालयको विकास र शैक्षिक उन्नयनमा असर गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले लामो समयदेखि विश्वविद्यालय भित्रैबाट पदाधिकारी नियुक्तिको माग गर्दै आएका थिए । तर माग पूरा हुन सकेको थिएन ।
गत वैशाख १८ गते उपकुलपति नियुक्त गर्दा सरकारले पूर्वाञ्चल विश्वविद्यालयकै प्राध्यापक बिजुकुमार थपलियालाई नियुक्त गर्यो । यो नियुक्ति प्रतिस्पर्धाका आधारमा भएको हो । विभिन्न विश्वविद्यालयका १६ प्राध्यापकलाई पछि पार्दै खुला प्रतिस्पर्धाबाट थपलिया उपकुलपति नियुक्त हुनुभएको हो ।
व्यवस्थापन संकायको डिन र ६ महिनाभन्दा बढी निमित्त उपकुलपतिको जिम्मेवारीसमेत थपलियाले बहन गरिसक्नुभएको छ । आफू विश्वविद्यालयभित्रैको भएका कारण अरुलाई जस्तो विश्वविद्यालय बुझ्न समय खर्चिनु नपर्ने र समयमै काम सुरु गर्नसक्ने सुविधा आफूमा रहेको उहाँ बताउनुहुन्छ ।
विश्वविद्यालय सभा र प्राज्ञिक परिषद्मा प्राज्ञिक क्षेत्रभन्दा राजनीतिक क्षेत्र हाबी हुने त्रुटिपूर्ण ऐन, नियम छ । प्राज्ञिक, कर्मचारीतन्त्र र परीक्षाजस्ता आन्तरिक संरचना कमजोर हुनुका साथै कर्मचारीबाट मिचिएको संस्थाको रुपमा पूर्वाञ्चल विश्वविद्यालय चिनिन्छ । विश्वविद्यालयका तमाम समस्याका विषयमा आफू जानकार रहेको भन्दै उपकुलपति थापलिया सुधारको सुरुआत गरिसकेको दाबी गर्नुहुन्छ ।
खुला प्रतिस्पर्धाबाट भएको थपलियाको नियुक्तिले पूर्वाञ्चल विश्वविद्यालयमा पनि क्षमतावान् प्राध्यापक छन् भन्ने कुराको पुष्टि त गरेको छ । तर पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक गन्तव्यका रुपमा विकास गरेर विश्वविद्यालयभित्रबाटै नियुक्त पदाधिकारीले राम्रो काम गर्छन् भनेर देखाउनुपर्ने चुनौती उहाँलाई रहेको प्राध्यापक रमेशबाबु काफ्ले बताउनुहुन्छ ।
उपकुलपति थपलियाको सफलता र असफलताले पूर्वाञ्चल विश्वविद्यालयका अन्य प्राध्यापकको क्षमताका विषयमा नयाँ भाष्य निर्माण गर्ने हुनाले विश्वविद्यालयको शैक्षिक उन्नयन र विकासमा सबै एकजुट भएर अघि बढ्नु आवश्यक छ ।