‘विपद् रोकथामका लागि पूर्वतयारी र व्यवस्थापनमा सरकारको प्रयास कमजोर’

फाल्गुन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘विपद् रोकथामका लागि पूर्वतयारी र व्यवस्थापनमा सरकारको प्रयास कमजोर’

काठमाडौं । विपद् रोकथामका लागि पूर्वतयारी र व्यवस्थापनमा सरकारको प्रयास कमजोर भएको विज्ञहरूले औंल्याएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालले आज काठमाडौंमा गरेको विपद् जोखिम न्यूनीकरणमा समुदायले खेलेको भूमिका र सहयोगको स्थानीयकरण सम्बन्धी कार्यक्रममा सरोकारवालाहरूले संविधानमै विपद् जोखिम घटाउने उल्लेख भए पनि अपेक्षित काम हुन नसकेको बताए ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले जसका लागि नीति बनाइएको हो उनीहरूले लाभ पाउन नसकेको भन्दै विपद्को पूर्वतयारीमा लगानी बढाउन सरकारसँग माग गर्नुभयो । उहाँले विपदका क्षेत्रमा काम गर्न आउने बाह्य सहयोग समेत धेरैजसो बीचमै खर्च हुने र पीडित तथा समुदायले लाभ नपाउने प्रवृत्ति रोक्नुपर्ने सुझाव पनि दिनुभयो ।

विपद्‌विज्ञ सूर्यनारायण श्रेष्ठले जलवायु परिवर्तन र विपद्‌लाई जोडेर हेर्नुपर्ने बताउँदै विकास गर्दा वातावरणीय प्रभावलाई ख्याल गर्नुपर्ने बताउनुभयो । वैदेशिक सहयोगको लाभ स्थानीय समुदाय र विपद् न्यूनीकरणका क्षेत्रमा पुग्ने गरी काम गर्नुपर्ने मान्यता विश्वव्यापी रूपमा बढ्दै गएको उहाँको भनाइ छ ।

कार्यक्रममा डिपीनेटका अध्यक्ष डाक्टर राजु थापाले सीमान्तकृत र विपन्न समुदाय नै विपद्‌बाट सबैभन्दा बढी प्रभावित हुने गरेको बताउँदै भूकम्प, बाढी, पहिरो, डुबान जस्ता विपद्‌बाट नागरिकलाई जोगाउन सरकारले जोखिम न्यूनीकरण र पूर्वतयारीलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement