भारतमा आईटी पढ्न नेपाली विद्यार्थीको आकर्षण बढ्दो

चैत्र १४, २०८० |राजेश मिश्र
भारतमा आईटी पढ्न नेपाली विद्यार्थीको आकर्षण बढ्दो

बैंग्लोर । उच्च शिक्षा अध्ययनका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी बर्सेनि भारत जान्छन् । भारतीय उच्च शिक्षा विभागका अनुसार सन् २०२२ मा १ सय ७० देशका ४६ हजार ८ सय ७८ जना विद्यार्थी विभिन्न विश्वविद्यालय र कलेजमा भर्ना भएका छन् । तीमध्ये सबैभन्दा धेरै अर्थात् २८ प्रतिशत नेपाली विद्यार्थी छन् ।

सन् २०२२ मा भारतमा उच्च शिक्षा अध्ययन गर्न भर्ना भएका नेपाली विद्यार्थीको संख्या १३ हजार १ सय २६ छ । दोस्रोमा अफगानिस्तान र तेस्रोमा अमेरिकी विद्यार्थी भारतमा पढ्छन् । २०२३ को विवरण पनि संकलन गरिरहेको भारतीय उच्च शिक्षा विभागले सबैभन्दा बढी विदेशी विद्यार्थी कर्नाटकको राजधानी बैंग्लोरमा पढिरहेको जनाएको छ ।

भारतको आईटी राजधानी मानिने बैंग्लोरमा ब्याचलर्स अफ टेक्नोलोजी र ब्यचलर अफ इन्जिनियरिङ पढ्ने नेपाली विद्यार्थी अधिक छन् । वर्षेनी औसत ६ हजार विदेशी विद्यार्थी बैंग्लोरका आईटी कलेजहरुमा भर्ना हुने गरेकोमा ९० प्रतिशत हिस्सा नेपालीको हुन्छ । बैंग्लोरमा सरकारी र निजी गरी १० वटा विश्वविद्यालय छन् । वर्षैभरी न गर्मी र न चिसो हुने एकै खालको मौसम र खानपानको संस्कृति पनि मिल्दोजुल्दो भएकाले बैंग्लोर धेरै नेपालीको रोजाइमा पर्नेगरेको छ ।

विदेशी विद्यार्थीका लागि निश्चित सिट छुट्याउनुपर्ने नियमका कारण शैक्षिक संस्थाहरुले उक्त सिटमा नेपाली विद्यार्थीलाई प्राथमिकता दिने गरेका छन् । मेहनती र अनुशासित भएकाले नेपाली विद्यार्थी उनीहरूको रोजाइमा पर्ने गरेको कम्प्युटर साइन्स इन्जिनियरिङका निर्देशक डा. जी. गिथाले बताए ।

बैंग्लोरमा आईटी पढ्ने विद्यार्थीले अध्ययन पूरा गर्दैगर्दा आफ्नो क्षमताअनुसारको रोजगारीको अवसर पनि पाउँछन् । बैंग्लोरमा रहेका आईटीका ठूल्ठूला कार्यालयदेखि विश्वका धेरै देशबाट आईटीका अब्बल विद्यार्थीहरु खोज्दै कम्पनीहरु विश्वविद्यालयमै आइपुग्छन् ।

बैंग्लोरमा आईटी पढ्ने नेपाली विद्यार्थी वर्षेनी बढ्दै गइरहेका बेला, स्वास्थ्यसाग सम्बन्धित विषयमा भने विद्यार्थी आउने क्रम धेरै घटेको छ । नरर्सिङ, फार्मेसी, फिजियोथेरापीजस्ता विषयमा नेपाली विद्यार्थी घटेका हुन् ।

‘स्वास्थ्य विज्ञान पढ्न चाहने नेपाली विद्यार्थीले नेपालमा प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्रै उनीहरु भारतमा भर्ना हुन योग्य हुन्छन् । यो प्रक्रियामा जाँदा उनीहरुको एक वर्ष खेर जाने हुनाले कोभिडपछि स्वास्थ्य विज्ञानमा नेपाली विद्यार्थी धेरै घटेका छन्,’ कृपानिधि कलेज बैंग्लोरका निर्देशक डा. साम पाउल इसाकले भने ।

नेपालले स्वास्थ्य विषय पढ्न चाहेनले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान ल्याएको छ । नेपालको प्रवेश परीक्षाको प्रक्रियामा लाग्दा बैंग्लोरमा कक्षा सुरु भइसक्ने हुनाले त्यसमा विद्यार्थीको आकर्षण घटेको हो । 


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement