विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्नू : नवनियुक्त उपकुलपति बराल

फाल्गुन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्नू : नवनियुक्त उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले विश्वविद्यालयमा हस्तक्षेप नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा राजनीति हस्तक्षेप हुँदा उच्च शिक्षामा समस्या आउने उनको भनाइ छ । आज पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै बरालले विश्वविद्यालय सुधारका लागि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उपकुलपति बरालले उच्च शिक्षा अध्ययनका नाममा विदेशिने विद्यार्थीलाई रोक्न विश्वविद्यालयले समयमै परीक्षा सञ्चालन गरी प्रकाशन गर्ने र श्रमबजार अनुसारको पाठ्यक्रम बनाउने प्रतिबद्धता पनि जनाए ।

बरालले मानविकी र शिक्षाशास्त्र संकायलाई चारवर्षेबाट तीनवर्षे बनाउने योजनासमेत सुनाए । खस्कँदै गरेको शिक्षाको सुधार र विश्वविद्यालयको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ छ ।

बरालले आजै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी आफूले पाएको जिम्मेवारी नेपालको शिक्षा सुधारमा उपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विश्वविद्यालयको उपकुलपति छनोट समितिले बराललाई दोस्रो नम्बरमा राख्दै गत आइतबार प्रधानमन्त्री दाहालसमक्ष तीन जनाको नाम सिफारिस गरेको थियो । उनलाई दाहालले हिजो नियुक्त गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.