त्रिवि उपकुलपतिमा केशरजंग बराल नियुक्त

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिवि उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त भएका छन् ।

४ वर्ष पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति रहेका बराललाई त्रिविको २०औं उपकुलपतिमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका हुन् ।

भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । अब त्रिविभित्रका बेथितिको चाङ हल गर्नुपर्ने दायित्व उनै बरालको काँधमा आएको छ ।

शिक्षामन्त्री अशोक राई अध्यक्ष रहेको छनोट समितिले त्रिविको उपकुलपतिमा बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

पाल्पाको रम्भा गाउँपालिका ३ मा २०१४ सालमा जन्मिएका बरालले २०३९ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट अध्यापन पेसा आरम्भ गरी ३७ वर्षसम्म प्राध्यापन क्षेत्रमा बिताए । उच्च शिक्षाको अध्ययन अनुसन्धान र प्राज्ञिक क्षेत्रमा लागिपरेका बराललाई अब त्रिभुवन विश्वविद्यालयमा हुने अराजनीतिक गतिविधि, राजनीतिक हस्तक्षेप र भागबन्डाको अन्त्य गर्नु प्रमुख चुनौती छ ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन, परीक्षासँग सम्बन्धित सबै पक्षको सुधारका लागि विश्वविद्यालयका शिक्षक विद्यार्थी र कर्मचारी संघ-संगठनसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने अर्को चुनौती छ ।

उच्च शिक्षालाई व्यवहारिक अनुसन्धानमुखी बनाउनुपर्ने दायित्व उनमा छ ।

मुलुकमा नयाँ वैज्ञानिक अध्ययन अनुसन्धानका काम हुन सकेका छैनन् । यस्तो अवस्थामा विश्वविद्यालयले वर्तमान र भविष्यका लागि आवश्यक नवीनतम् अनुसन्धानमूलक शिक्षालाई प्राथमिकतामा राखी राष्ट्रलाई योगदान पुर्याउनुपर्ने खाँचो छ ।

विश्वस्तरीय प्राज्ञिक संस्थाका रुपमा परिचित त्रिविको पुरानो विरासत कायम गर्न उपकुलपति बरालसामु चुनौतीका चाङ नै छन् । अब नवनियुक्त उपकुलपति बरालले यस्ता चुनौती कसरी पार लगाउँछन् प्रतीक्षाको विषय बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.