उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार !

माघ २३, २०८० |भुवन पाण्डे
उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार !

भैरहवा । कुनै विद्यालयले श्रेणीका आधारमा विद्यार्थीलाई नगद पुरस्कारसहित पदक दिन्छन् भन्दा हामी कसैलाई अनौठो नलाग्ला । तर, रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेको एक विद्यालयले विद्यार्थीलाई उत्कृष्टताका आधारमा भैँसी पुरस्कार दिने गरेको छ । विद्यार्थीले पाएको भैँसीबाट भएको आम्दानीले पढाइ खर्च टरेको छ ।

सञ्जय लोध, श्री सुण्डी माध्यमिक विद्यालयमा कक्षा नौ मा पढ्छन् । खेती किसानीबाट जेनतेन घरको गुजारा टर्ने लोधको परिवारलाई छोराको पढाई खर्च जुटाउन धौधौ थियो । यस्तो मुस्किल परिस्थितिमा छोराले पुरस्कार बापत भैँसी ल्याए पछि परिवारमा हर्ष थपिएको छ ।

रुपन्देहीको दक्षिणी भेगका अधिकांश परिवारको जीविकाको माध्यम हो- कृषि तथा पशुपन्छी । प्राय गरिब गुरुवाका छोराछोरी पढ्ने यस विद्यालयमा गरिबीकै कारण धेरैले बीचमै विद्यालय छोडेका छन् । 

विद्यार्थीको मनोबल पनि बढ्ने तथा परिवारको आय स्तरमा समेत मद्दत मिल्ने भएपछि विद्यालयले पुरस्कारबापत भैँसी दिन थालेको हो । अध्ययनलाई बेवास्ता गरेका विद्यार्थीहरूलाई समेत भैँसी पाउने अभिलाषाले पढ्ने प्रेरणा थपेको छ ।

विद्यालयले आयोजना गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भैँसी पुरस्कार दिइएको हो । पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा सात सय ३२ जना विद्यार्थी सहभागी थिए । हरेक समूहबाट सात-सातजनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैँसी तथा अन्यले नगद पुरस्कार पाए ।

हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै विद्यालयले भैँसी पुरस्कार दिने गरेको छ । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा ३१ जनाले भैँसी पाइसके । दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले पुरस्कारबापत सहयोग रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।