विद्यार्थीमा पढ्दै, कमाउँदै कार्यक्रम प्रभावकारी

मंसिर २१, २०८० |वरुण पनेरू
विद्यार्थीमा पढ्दै, कमाउँदै कार्यक्रम प्रभावकारी

डडेल्धुरा । डडेल्धुराका विद्यार्थी कक्षामा पढ्दै र खेतबारीमा अभ्यास गर्दै आधुनिक र व्यावसायिक तरकारी खेतीको तरिका सिक्दैछन् । परशुराम नगरपालिका-४ मा रहेको भागेश्वर माविका विद्यार्थी पढ्दै, कमाउँदै, सिक्दै कार्यक्रमअन्तर्गत पढाइसँगै आम्दानी पनि गर्न सफल भएका छन् ।

पार्वती माल परशुराम-४ मा रहेको भागेश्वर मावि कटालमा कक्षा ११ को 'बाली विज्ञान' विषयकी विद्यार्थी हुन् । यो विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत बाली विज्ञान विषय पढाउँदै आएको छ । पढाइसँगै उनी विद्यालयको खेतमा काम गर्छिन् । किसानकी छोरी उनले गाउँमा पनि खेतीको काम गरेकै थिइन् । आफ्नो गाउँमा बाली तयार हुन धेरै महिना लाग्थ्यो । तरकारी पनि वर्षमा एकपटक मात्रै उब्जिन्थ्यो । यो विद्यालयमा प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीको अनुभव फेरिएको छ । पढ्दै सिक्दै कार्यक्रमअन्तर्गत विद्यालयमा फूल, तरकारी, केरा, धान लगाएर उनीहरु राम्रो आम्दानी गरिरहेकी छन् ।

विद्यार्थी कक्षामा सैद्धान्तिक ज्ञानसँगै खेतबारीमा अभ्यास पनि गर्दै आधुनिक र व्यावसायिक खेतीको तरिका सिक्दैछन् । अधिकतम उत्पादन लिने तरिका थाहा पाउँदैछन् । कृषि विषयको विद्यार्थी भएपछि विद्यार्थीहरुले ठाउँको वातावरण अनुकूल खेती गर्न जान्दा बढी प्रतिफल लिन सकिने भन्ने थाहा पाएका छन् । विद्यालयमा ९ देखि १२ कक्षासम्म कृषि पढाइ हुने गरेको छ ।

विद्यालयले १८ रोपनी जमिन भाडा लिएर विद्यार्थीलाई दैनिक प्रयोगात्मक कृषि कार्य गराउँदै आइरहेको छ । विद्यार्थीले सिजनअनुसारका तरकारी, फूलफूल र खाद्य बाली लगाउने गरेका छन् । विद्यार्थीहरुले खेतीका लागि माटो तयारी, क्षेत्रफलअनुसार मल प्रयोग, बेर्ना उत्पादन, तापक्रम सन्तुलन, सिँचाइ, रोग, उपचारलगायतका तरिकाहरू सिकिरहेका छन् । बाली विज्ञान पढिरहेका १५० भन्दा बढी विद्यार्थीले यसै वर्षमात्रै २ लाख बराबरको सयपत्री फूल बचेका छन् ।

विद्यालयका शिक्षक दुर्गादत्त पन्तले मौसम तथा बेमौसमी तरकारीका साथै अन्य खेतीबाली लगाएर वार्षिक साढे दुईदेखि तीन लाख रुपैयाँ आम्दानी हुने जानकारी दिए । उनले भने, ‘यस आम्दानी भएको रकमबाट खर्च कटाएर ४० देखि ५० प्रतिशत विद्यार्थीहरुलाई नै दिने गरेका छौँ ।’

औपचारिक पढाइ सकिएपछि व्यावसायिक तरकारी खेतीमा लाग्न सक्षम बनाउने गरी विद्यार्थीलाई पढ्दै, सिक्दै कार्यक्रम लागु भएको हो । जिल्लाका चार विद्यालयले यो कार्यक्रम सञ्चालन गरेका छन् ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।