प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुन्न : त्रिवि उपकुलपति बास्कोटा

कर्मचारीहरुको संघ, संगठनलाई स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको अन्त्य गरिनु पर्छ
कार्तिक १५, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुन्न : त्रिवि उपकुलपति बास्कोटा

काठमाडौं । त्रिभवुन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने जनाएका छन् ।

बुधबार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने जनाएका हुन् । उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्तावसमेत गरे ।

उनले भने, 'विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रस्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ ।’

उपकुलपति बास्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरुको संघ, संगठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उपकुलपति बास्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताए । हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसमा उल्लेख्य वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रुपान्तरण गर्न आवश्यक रहेकोसमेत उपकुलपति बास्कोटाको भनाइ थियो ।

'उच्च शिक्षामा राज्यले विनियोजन गर्दै आएको १० प्रतिशतको हाराहारीको बजेटलाई उल्लेख्य वृद्धि गरी सार्क मुलुकहरु सरह कम्तीमा २० देखि २५ प्रतिशतको हाराहारीमा पुर्‍याउनु पर्ने र त्यसैगरी अनुसन्धान तथा विकास बजेटमा पनि सोही अनुपातमा वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रुपान्तरण गरिनुपर्ने छ।’ उनले भने ।

उपकुलपति बास्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने, जनसंख्याको आधारमा विश्वविद्यालयको संख्या निर्धारण गर्न ढिलाई गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक संकटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुनेसमेत जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.