प्यूठानका सामुदायिक विद्यालयलाई विद्यार्थी जुटाउनु नै चुनौती

जेष्ठ ९, २०८० |शमशेरविक्रम जीसी
प्यूठानका सामुदायिक विद्यालयलाई विद्यार्थी जुटाउनु नै चुनौती

प्यूठान । देशका अन्य जिल्लामा जस्तै प्यूठानका सामुदायिक विद्यालयले पनि विद्यार्थी अभाव झेलिरहेका छन् । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जाँदा प्यूठानमा केही विद्यालयहरूको तह कटौती गर्नु परेको छ भने केही विद्यालय त बन्द नै भएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । अधिकांश विद्यालयले भर्ना अभियान सकेर पठनपाठन पनि सुरु गरिसकेका छन् । तर प्यूठानको प्यूठान नगरपालिका-४, थापाडाँडाको सरस्वती प्राथमिक विद्यालयमा भने अहिलेसम्म एकजना विद्यार्थी पनि भर्ना हुन आएका छैनन् । २०१२ सालमा स्थापित यो विद्यालयमा गत वर्षसम्म कक्षा ५ सम्म पढाइ हुन्थ्यो । यसै शैक्षिक सत्रदेखि तीन कक्षामा झारिए पनि विद्यार्थी सङ्ख्या शून्य छ ।

सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थपलिया विद्यालय पढ्न आउने विद्यार्थी नहुँदा अफ्ठ्यारोमा परेको गुनासो गर्छन् । उनले भने, शिशु जन्मदर कम, अभिभावकको पनि निजी विद्यालयमा मात्रै जोड । जसले गर्दा हामी चाहिँ साह्रै अफ्ठ्यारोमा परियो ।

प्यूठान नगरपालिका-३ को बालमन्दिर प्राथमिक विद्यालयलाई पनि विद्यार्थी अभावकै कारण नगरपालिकाले ३ कक्षामा झारेको छ । यो विद्यालयमा शिशुदेखि ३ कक्षासम्म १५ जना विद्यार्थी पनि छैनन् । अघिल्लो शैक्षिक सत्रमा ४६ जना विद्यार्थी रहेकोमा अहिले सङ्ख्या उल्लेख्य घटेको हो ।

विद्यार्थी ल्याउन घर-घर गएको तर पनि सफल नभएको उक्त विद्यालयका प्रअ लोकबहादुर बिष्टको भनाइ छ । ३ कक्षाभन्दा माथि पढ्ने दाजु, दिदी अर्कै विद्यालय जाने हुँदा मसिना भाइ, बहिनी उतै जाँदा यो विद्यालयले विद्यार्थी नपाएको बिष्ट जनाउँछन् ।

विद्यार्थी अभाव झेल्दै आएका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भएका कयौँ उदाहरण छन् । विद्यार्थी अभाव रहेको भन्दै प्यूठान नगरपालिकाले यसै वर्षमात्रै ८ वटा विद्यालयको तह घटुवा गरेको छ । बढ्दो बसाइँसराई, जन्मदरमा आएको कमीलगायतलाई विद्यार्थी घट्ने कारण देखाएर सामुदायिक विद्यालयहरूको कमजोर शैक्षिक गुणस्तरबारे भने बेवास्ता भइरहको छ । माध्यमिक तहसम्मको विद्यालय हेर्ने जिम्मा पाएको स्थानीय सरकारसँग पनि विद्यालय सुधारको कुनै योजना छैन ।

नगरपालिकाले प्राविधिक सहायताहरु पुर्‍याउने, तालिम दिनेलगायतको काम गर्दै आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख वासुदेव भट्टराईले जनाए । विद्यार्थी संख्या नपुगेको अवस्थामा विद्यालयलाई मर्ज गर्नेसम्मको योजना रहेको उनको भनाइ छ ।

गुणस्तर सुधार गरी युग सुहाउँदो शिक्षा दिनसके सामुदायिक विद्यालयमा पनि विद्यार्थी अभिभावकको आकर्षण कायमै रहन्छ भन्ने उदाहरण कयौँ विद्यालयले पेस गरेका छन् । तर यहाँ भने त्यो केही देखिँदैन । 


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।