हेलम्बुका ३४ विद्यालयमा अस्थायी शिक्षक अवकाश कोष योजना, प्रभावकारी बन्दै अध्यापन

वैशाख २८, २०८० |कमला पाख्रिन
हेलम्बुका ३४ विद्यालयमा अस्थायी शिक्षक अवकाश कोष योजना, प्रभावकारी बन्दै अध्यापन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले माध्यमिक तहसम्मकै विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यस्तै राहत र अस्थायी शिक्षकहरूको रोजगार सुरक्षा गरिएको छ ।

गाउँपालिकाका ३४ वटै विद्यालयमा निश्चित समयावधिसम्म काम गर्ने शिक्षकका लागि अस्थायी शिक्षक अवकास कोषको व्यवस्थाले अध्ययन-अध्यापन प्रभावकारी बन्दै गएको छ ।

दुर्गम भूगोल र छरिएको बस्तीजस्ता प्रतिकूलतालाई छिचोल्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले केही उदाहरणीय काम गरिरहेको छ । यहाँका विद्यालयमा १२ कक्षासम्मकै विद्यार्थीले दिवा खाजा पाउँछन् । जबकि सरकारले ६ कक्षासम्मका विद्यार्थीलाई मात्रै खाजा दिन्छ ।

विद्यार्थीहरू पढाइकै क्रममा थरीथरीका तरकारी फलाउँछन् । त्यही ताजा तरकारी दिवा खाजामा प्रयोग हुन्छ । यसले विद्यार्थीको कक्षामा उपस्थिति बढाएको छ । टाढाका विद्यार्थीलाई विद्यालयमै आवासको व्यवस्था छ ।

‘होस्टेलमा बसेर पढ्दा सजिलो भएको छ । पहिला घरबाट आउनुपर्थ्यो । लामोबाटो हिँड्दा गाह्रो हुन्थ्यो,’ गोल्मादेवी मावि किउल सिन्धुपाल्चोकका विद्यार्थी कर्म ल्होल्मो भन्छन् ।

विद्यालयमा विद्यार्थीहरुले प्याज, गाजर, लसुन, काउली र बन्दा लगाएको भूमेश्वरी मावि गणेशबगर सिन्धुपाल्चोकका विद्यार्थी मिलन ज्योतिले जनाए । ‘विद्यालयमा कक्षा १ देखि १२ सम्मका लाई खाजा दिने गर्छौं,’ उनले भने, ‘खेतमा गरेको काम हाम्रो प्रयोगात्मक परीक्षाका रुपमा अंकसमेत जोडिन्छ ।’

अन्य जिल्लाका राहत र अस्थायी शिक्षक पेसागत असुरक्षा महसुस गरी पलायन भइरहेका बेला हेलम्बुमा अस्थायी शिक्षक अवकाश कोषमा मासिक पाँच सय बचत र पाँच लाख रुपैयाँको स्वास्थ्य बिमा कोष खडा गरिएको छ । गाउँपालिकाले पेसागत संरक्षण गरेकैले शिक्षकहरूले निश्चिन्त भएर पढाइरहेका छन् । निश्चित समयावधि शिक्षण गरेपछि राहत र अस्थायी शिक्षकले पनि खाली हात घर फर्कनु पर्दैन ।

‘सरकारी स्केलबमोजिमको तलब दिने व्यवस्था गरेको छ । र सञ्चयकोषको पनि व्यवस्था गरिएको छ,’ गोल्मादेवी मावि किउलका अस्थायी शिक्षक युवराज पौडेलले भने ।

गाउँपालिकाभित्रका ३४ सामुदायिक विद्यालयमा चार हजार चार सय ३२ विद्यार्थी पढ्छन् जहाँ ५६ अस्थायी शिक्षक छन् । शिक्षक विद्यार्थी दुवैले दैनिक २५ रुपैयाँबराबरको खाजा पाउँछन् । यसका लागि गाउँपालिकाले वार्षिक ५० लाख बजेट छुट्याएको छ । अपुग रकम स्रोत मिलान गरेर पूर्ति हुने गरेको छ ।

‘स्थायी टिचरहरु जागिर छाडेर जाँदा पेन्सन पाउने भए । अस्थायी टिचर विचरा एक रुपैयाँ पनि पाउँदैनन् । उहाँहरुको पनि केही मनोबल बढोस् भनेर हामीले अवकाश कोषको व्यवस्था गरेका हौं,’ हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘पाँच सय रुपैयाँ उहाँहरुको लाग्छ । हामीले पाँच सय रुपैयाँ थपेर राखिदिन्छौं ।’

विद्यालयले पोषणयुक्त खाजा खुवाउँदा बालबालिकाको शारीरिक र बौद्धिक विकासमा सहयोग पुगेको छ भने अवकाश कोषले शिक्षकमा सुरक्षा बढेको छ । यसले शिक्षक र विद्यार्थी दुवैले बीचैमा पढाउन र पढ्न छोड्ने समस्या घट्दै गएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।