चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस तथा नर्सिङसहित १३ वटा कार्यक्रमको प्रवेश परीक्षा सुरु (भिडियो रिपोर्ट)

फाल्गुन २४, २०७९ |नारायण किलम्बू
चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस तथा नर्सिङसहित १३ वटा कार्यक्रमको प्रवेश परीक्षा सुरु (भिडियो रिपोर्ट)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र नर्सिङसहित १३ वटा कार्यक्रमका लागि लिने एकीकृत प्रवेश परीक्षा आज (बुधबार) देखि सुरु भएको छ । प्रवेश परीक्षाका लागि ३७ हजार विद्यार्थीले आवेदन दिएकामा आज एमबीबीएसको झन्डै १९ सय सिटका लागि १४ हजार परीक्षार्थी सहभागी भएका छन् ।

चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस अध्ययन गराउने २१ वटा मेडिकल कलेजमा एक हजार आठ सय ९५ सिट छन् । जसका लागि बुधबार भएको प्रवेश परीक्षामा १४ हजार विद्यार्थी सहभागी भए । भारत, अमेरिका, श्रीलंका, माल्दिभ्सलगायत देशका सात सय विदेशी विद्यार्थीले समेत प्रवेश परीक्षा दिएका छन् ।

चिकित्सा आयोगले काठमाडौं उपत्यकाका ५८ परीक्षा केन्द्रमार्फत प्रवेश परीक्षा लिएको हो । गत वर्षसम्म एमबीबीएस, बीडीएस र नर्सिङलाई एकै समूहमा राख्दै एकै दिन प्रवेश परीक्षा लिने गरिएको थियो । यसपालि भने तीनवटा कार्यक्रमलाई छुट्टाछुट्टै समूहमा विभाजन गरी परीक्षा लिइएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले जानकारी दिए ।

यसपटक चिकित्सा शिक्षाका स्नातक तहअन्तर्गत १३ वटा कार्यक्रमका सात हजार सिटका लागि ३७ हजार विद्यार्थीले आवेदन दिएका थिए । गत वर्षको तुलनामा चिकित्सा शिक्षा अध्ययनका लागि परीक्षा दिनेको संख्या यस वर्ष चार हजार बढी छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि सरकारी कलेजमा ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ भने निजी मेडिकल कलेजले पनि स्वदेशी लगानी भए १० प्रतिशत र विदेशी लगानी भए २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । बुधबारदेखि सुरु भएको प्रवेश परीक्षा २८ फागुनसम्म चल्नेछ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।