इन्जिनियर बन्न अब लाइसेन्स परीक्षा अनिवार्य (भिडियो रिपोर्ट)

फाल्गुन २३, २०७९ |नारायण किलम्बू
इन्जिनियर बन्न अब लाइसेन्स परीक्षा अनिवार्य (भिडियो रिपोर्ट)

काठमाडौं । इन्जिनियरमा उच्च शिक्षा हासिल गरेपछि कुनै पेसा व्यवसाय गर्न वा स्नातकोत्तर अध्ययन गर्न लाइसेन्स परीक्षा अनिवार्य पास गर्नुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद्ले यस वर्ष पहिलोपटक इन्जिनियरको लाइसेन्स परीक्षा लिन लागेको हो ।

नेपालका ५२ इन्जिनियर कलेजबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्छन् । त्यस अतिरिक्त भारतलगायत देशबाट उच्च शिक्षा लिनेको संख्या पनि ६ हजारको हाराहारीमा हुन्छ । इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेपछि शैक्षिक प्रमाणपत्रका आधारमा नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स उपलब्ध गराउँदै आएकामा अब भने परीक्षा नै लिने भएको छ । चैतको दोस्रो साता कम्युटरका माध्यमबाट लिइने परीक्षाका लागि २२ विषयमा दुई हजारले आवेदन दिएका छन् ।

परिषद्का अनुसार अहिलेसम्म ७७ हजारले लाइसेन्स लिइसकेका छन् । हरेक वर्ष आठ हजारभन्दा बढीले लाइसेन्स लिने गरेका छन् । शैक्षिक प्रमाणपत्रका आधारमा लाइसेन्स दिँदा इन्जिनियरिङको गुणस्तर खस्किँदै गएको विज्ञको बुझाइ छ ।

पहिलोपटक हुन लागेको इन्जिनियरिङको लाइसेन्स परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनुका साथै गुणस्तर सुधारमा ध्यान दिन उत्तिकै आवश्यक छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।