इन्जिनियरिङमा आकर्षण बढेपछि तीन आंगिक क्याम्पस थप्ने त्रिविको तयारी (भिडियो रिपोर्ट)

फाल्गुन २१, २०७९ |नारायण किलम्बू
इन्जिनियरिङमा आकर्षण बढेपछि तीन आंगिक क्याम्पस थप्ने त्रिविको तयारी (भिडियो रिपोर्ट)

काठमाडौं । गुणस्तरीय शिक्षा नपाउँदा रोजगारीबाटै वञ्चित हुनु परेको गुनासो पटक-पटक सुनिँदै आएको छ । तर, प्राविधिक शिक्षा लिनेहरुबाट भने खासै गुनासो आउँदैन । प्राविधिक शिक्षा लिँदा सजिलै रोजगारी पाइने भएकाले इन्जिनियरिङ संकायमा विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थी चाप र आवश्यकतालार्इ हेरेर त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले हरेक प्रदेशमा आंगिक क्याम्पस विस्तारको तयारी थालेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक, थापाथली, धरान, चितवन र पोखरा गरी पाँचवटा आंगिक इन्जिनियरिङ क्याम्पस छन् । अरु १० वटा निजी क्याम्पसले पनि पढाउँदै आएका छन् ।

सातमध्ये मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा इन्जिनियरिङ पढाउने आंगिक क्याम्पस नै छैनन् । सस्तो शुल्क र गुणस्तरीय शिक्षाका कारण भएका क्याम्पसमा भर्ना हुन आवश्यकभन्दा तेब्बर विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् ।

विद्यार्थीको चाप थेगिनसक्नु भएपछि सरकारको आग्रहमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले हरेक प्रदेशमा इन्जिनियरिङका आंगिक क्याम्पस विस्तारको तयारी गरेको छ । लुम्बिनीको घोराही र सुदूरपश्चिमको डोटीमा इन्जिनियरिङ क्याम्पस स्थापना गर्न जग्गाको व्यवस्था भइसकेको छ । सरकारले बजेट उपलब्ध गराए आगामी वर्षबाटै पठनपाठन सुरु गर्ने तयारी छ ।

इन्जिनियरिङको स्नातक तहमा १२ र स्नातकोत्तरमा ३५ विषयको पढाइ हुन्छ । अहिले भएका त्रिविअन्तर्गतका क्याम्पसमा पाँच हजार विद्यार्थी छन् । स्नातक र स्नातकोत्तर तहमा यस वर्ष १७ हजारले प्रवेश परीक्षा दिएका थिए । जबकि ८ वर्ष अघि जम्मा १० हजारले मात्रै दिएका थिए ।

पाँचवर्ष अघिसम्म ५० हजारभन्दा बढी भर्ना हुने शिक्षाशास्त्र संकायमा अहिले मुस्किलले २० हजार हुने गरेका छन् । त्यसैगरी मानविकी संकायमा पनि भर्ना दर घट्दो छ । तर प्राविधिक शिक्षामा इन्जिनियरिङ र चिकित्सा शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । अध्ययनका पूरा गरेपछि स्वदेशमा मात्र होइन, विदेशमा समेत रोजगारी पाउन सजिलो हुने भएकाले विद्यार्थीको आकर्षण इन्जिनियरिङ शिक्षामा बढी रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख प्रा. इन्द्रप्रसाद आचार्यको भनाइ छ ।

त्यसो त इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सजिलो भने छैन । एउटा क्याम्पस बनाउन कम्तिमा एक अर्ब रुपैयाँ लाग्छ । त्यति मात्र होइन, शिक्षाको गुणस्तर सुधारमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ ।

इन्जिनियरिङका आंगिक क्याम्पस विस्तार हुने
इन्जिनियरिङको प्रवेश परीक्षामा कलेजको मनोमानीले खस्कियो शिक्षाको गुणस्तर, विश्वसनीयता गुम्ने जोखिम !


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।