एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा उत्तीर्ण नगर्नेले वैकल्पिक विषयमा थप अध्ययन गर्न पाउने (भिडियो रिपोर्ट)

फाल्गुन १४, २०७९ |नारायण किलम्बू
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा उत्तीर्ण नगर्नेले वैकल्पिक विषयमा थप अध्ययन गर्न पाउने (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा धेरैपटक असफल भएका विद्यार्थीलाई वैकल्पिक विषयमा थप अध्ययन गर्न विकल्प दिने भएको छ । यसका लागि काउन्सिलले चिकित्सा शिक्षा पढाउने विश्वविद्यालय र मेडिकल कलेजसँग छलफल गरिसकेको छ । एउटै विषयमा धेरै पटक असफल विद्यार्थीलाई विकल्प दिँदा राहत पुग्ने बुझाइ विज्ञको छ ।

चिकित्साशास्त्रको एमबीबीएस र बीडीएस उत्तिर्ण सबैले सम्बन्धित थप विषय अध्ययनका लागि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गर्नुपर्छ । चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा यो वर्ष ५ हजार ६ सय परीक्षार्थीमा ५६ प्रतिशत विद्यार्थी फेल भएका छन् । हरेक वर्ष एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षामा करिब ५० प्रतिशत फेल हुने गरेका छन् । अब भने मेडिकल काउन्सिलले त्यस्ता विद्यार्थीको वृत्ति विकास नरोकियोस् भनेर वैकल्पिक विषयमा थप अध्ययन गर्न दिने तयारी गरेको हो ।

‘पढाइमा खर्च गरेर पढेको विद्यार्थीले लाइसेन्स पास नगरेपछि उसको सबैथोक रोकिन्छ । ऊ थप अध्ययन गर्न, जागिर खान मिल्दैन । तसर्थ हामीले के सोचेको भने पारिवारिक पीडा, व्यक्तिगत पीडा हुने भएकाले त्यस्ता व्यक्तिलाई कसरी थप अध्ययन गर्न पाउने व्यवस्था मिलाउन सकिन्छ भनेर नेपाल मेडिकल काउन्सिलले सोचेको हो,’ काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी भन्छन्, ‘नेपाल मेडिकल काउन्सिलमा दर्ता नहुने विषय अथवा बिरामी नजाँचिने विषयमा उहाँहरुलाई पढ्न दिइनेतर्फ सोच बनाइएको हो ।’

त्यसो त डाक्टर नै बन्छु भनेर मेडिकल कलेजमा साढे पाँच वर्ष अध्ययन गर्दा विद्यार्थीको एक करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । तर लाइसेन्स परीक्षामै असफल भएपछि उसको लगानी मात्र डुब्दैन, भविष्य नै अन्योलमा पर्छ । लाइसेन्स परीक्षामा असफल भयो भने क्लिनिकलबाहेकका अरु विषय अध्ययन गर्न दिनुपर्ने बुझाइ विज्ञको छ ।

‘ननक्लिनिकल विषयमा भए पनि आफ्नो योग्यता देखाउन पाइयो, क्षमता अभिवृद्धि गर्न पायो, रोजगार गर्न पायो,’ चिकित्सा शिक्षाका विज्ञ प्राडा करवीरनाथ योगी भन्छन्, ‘अहिले नेपाल अधिराज्यभर नै आधारभूत विज्ञान जस्तै- एनाडोमी, फिजियोलोजी, फर्माक्लोजीजस्ता विषयहरुमा जनशक्ति कमी छ । त्यसैले यस्तो गरे विद्यार्थीहरुलाई अप्सन भयो, दोस्रो राष्ट्रको पनि आवश्यकता पूरा हुन्छ ।’

यति धेरै पढिसकेपछि पास गर्नु नै पर्ने काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेडिसिनका डिन प्राडा राजेन्द्र कोजूको भनाइ छ । कथंकदाचित पास भइएन भने योसँग सम्बन्धित अरु विषय पनि केही गर्न सक्छु कि भनेर वैकल्पिक धारणा राख्नु राम्रो हुने कोजूको सुझाव छ ।

चिकित्सा पेसा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिन्छ । जनस्वास्थ्यमा पनि असर नपर्ने र विद्यार्थीको समय र लाखौं खर्च पनि खेर जान नदिनेतर्फ सरोकारवाला गम्भीर हुनैपर्छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।