राजनीतिक स्वार्थ पुरा गर्न प्रदेशमा विश्वविद्यालय खोल्ने होड

आश्विन २६, २०७९
राजनीतिक स्वार्थ पुरा गर्न प्रदेशमा विश्वविद्यालय खोल्ने होड

संघीय सरकार मातहत ११ वटा विश्वविद्यालय  छन् । ती विश्वविद्यालय नै प्रभावकारी रुपमा सञ्चालन हुन नसकिरहेका बेला प्रदेश सरकारहरु विश्वविद्यालय स्थापनाको होडबाजीमै लागेका छन् । यस्तो अवस्थामा सम्भाव्यता अध्ययन, नक्साङ्कन र वित्तीय व्यवस्थापनको सुनिश्चितता गरेर मात्र प्रदेश विश्वविद्यालय स्थापना गर्न संघ र प्रदेश सरकारलार्इ सिफारिस गर्ने तयारी राष्ट्रिय योजना आयोगले गरेको छ । 

 

मधेस प्रदेश सरकारले मात्रै तीन वटा प्रदेश विश्वविद्यालय स्थापना गरेको छ । आफ्नै प्रदेशमा भएको राजश्री जनक विश्वविद्यालय व्यवस्थित रुपमा चल्न नसकेका बेला मधेश सरकारले मधेश विश्वविद्यालय, कृषि र प्राविधिक विश्वविद्यालय स्थापना गरेको छ । प्रदेश १ ले मनमोहन प्राविधिक विश्वविद्यालय र गण्डकीले गण्डकी प्रदेश विश्वविद्यालय स्थापना गरिसकेका छन् । सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । तर, राष्ट्रिय योजना आयोगले आवश्यकता र औचित्यताविना विश्वविद्यालय स्थापना नगर्न सरकारसमक्ष सिफारिसको तयारी गरेको छ । आर्थिक स्रोत सुनिश्चित नगरि हचुवाका भरमा विश्वविद्यालय स्थापना गर्दा दीगोपना नहुने र समस्या आउन सक्ने आयोगको निष्कर्ष छ । 

हाल सञ्चालनमा रहेकाबाहेक योगमाया आयुर्वेद, मदनभण्डारी विज्ञान तथा प्रविधि तथा नेपाल विश्वविद्यालय स्थापनाको अन्तिम चरणमा छन् । ख्वप, खेलकुद, रक्षा, पर्यटन सहितका ६ वटा विश्वविद्यालय स्थापनाका लागि पनि सम्वन्धित मन्त्रालयबाट पहलकदमी भइरहेको छ । विश्वविद्यालयको संख्या बढे पनि गुणस्तरीय र रोजगारमुलक शिक्षाको अभावमा यो वर्षमात्र १ लाख १८ हजार विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन् । कुन खालको शिक्षा दिने र कस्तो जनशक्ति उत्पादन गर्ने तय नगरी होडबाजीका रुपमा विश्वविद्यालयहरु खोल्न नहुने विज्ञको सुझाव छ । 

राजनीतिक स्वार्थ पुरा गर्ने र आफ्ना मान्छेलाई जागिर खुवाउने उद्देश्यले जथाभावी विश्वविद्यालय स्थापना गर्दै जाने हो भने मुलुकको शैक्षिक प्रणालीमै दीर्घकालीन असर पर्न सक्छ । यसतर्फ सबै सचेत हुनैपर्छ ।