
दाङ्ग । सिँचाइ सुविधाको विस्तार र यान्त्रीकरणको सहजताका कारण दाङ्ग देउखुरी क्षेत्रका ४ पालिकामा मकैखेती विस्तार हुँदै गएको छ ।
१० वर्षअघि ३९७ हेक्टरमा मकैखेती हुने गरेकोमा अहिले ४ हजार २ सय हेक्टर पुगेको छ भने १ हजारभन्दा बढी किसान मकै खेतीमा लागेका छन्। वर्षे हिउँदे र बसन्ते गरी ३ सिजनको मकै खेतीबाट किसानहरूले लाखौ रूपैयाँ आम्दानी गर्न थालेका छन् भने हाइब्रिड मकैको बीउ उत्पादन पनि सुरू भएको छ।
पछिल्नो समय सिँचाइ क्षेत्रको विस्तार र प्रबिधीको प्रयोग बढ्न थालेपछि देउखुरीका लमही राजपुर गढवा र राप्ती गाँउपालिकाका खेत तथा बारीमा जताततै बसन्ते मकै खेती हुने गरेको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै देउखुरी क्षेत्रका किसानहरुले जेठ असारमा वर्षे, असोज कार्तिकमा हिउँदे र फागुन महिनामा वसन्ते गरी ३ सिजन कमै खेती गर्न थालेका छन् ।
एउटा किसानले कम्तिमा ४० पचास हजारदेखि ५ लाखसम्म मकैबाट आम्दानी गर्न थालेका छन् । हिजोका दिनमा गोरूले जोत्नु पर्ने रासायनिक मलको अभाव हुने र सिँचाइको पनि अभाव हुने गरेकाले मकै खेतीमा नलागेको बताउने देउखुरी क्षेत्रका किसान खेती प्रणालीमा आएको परिवर्तनका कारण मकैखेती तर्फ आकर्षित भएका हुन् ।
अहिले यहाँका किसानले मकैखेतीमा यान्त्रीक उपकरण प्रयोग गर्न थालेका छन् । देउखुरी क्षेत्रमा आर्थिक वर्ष २०७३ /०७४ देखी कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यक्रम लागू भएपछि किसानहरूमा उत्साह थपिएको हो । देउखुरी क्षेत्रका किसानले गाईबस्तुको दाना, पोलेर खान हरीयो कोसा बिक्री र हाइब्रिड बीउ उत्पादनका लागि मकै खेती गर्ने गरेका छन्।
किसानको उत्साह र सक्रियतालाई मकै सुपरजोन कार्याक्रमले पनि किसानको आवस्यकताका आधारमा साथ र सहयोग गर्दै आएको छ । जसका कारण १० वर्षअघि देउखुरीका ४ पालिकामा ३९७ हेक्टरमा मकैखेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढेर ४ हजार २ सय हेक्टर पुगेको छ भने देउखुरी क्षेत्रका १ हजारभन्दा बढी किसान मकै खेतीमा लागेका छन् ।
किसानले मकैखेतीमा चासो बढाएसँगै मकै खेती पनि विस्तार हुँदै आएपछि अहिले लमही क्षेमा मात्रै मकैको बीउ उत्पादन कम्पनी आएर किसानलाई आवस्यक परामर्शदेखि उत्पादन भएको खाद्यबस्तु खरीद गर्ने सम्मको काम गरेका छन् । देउखुरी क्षेत्रका किसान मकै खेतीमा मात्रै आबद्ध भएका छैनन् उनीहरू एकतर्फ त्यसबाट लाखौ रूपैयाँ आम्दानी गर्न सफल भएका छन् भने अर्कोतर्फ भारत लगायतका देशहरूबाट आउने मकैको आयातलाई पनि कम गर्दै राष्ट्रिय अर्थतन्त्रको पुँजी निमार्णमा पनि सहयोग गरीरहेका छन् ।
किसानमा आएको व्यवसायिक खेती प्रणालीको सोच, यान्त्रीकरणको प्रयोगबाट खेती प्रणलीमा लागत कम र मुनाफा बढी र आउने सहजताका साथै सिँचाइ क्षेत्रको विस्तारले देउखुरी क्षेत्र मकै उत्पादनका लागि पकेट क्षेत्र बन्दै गएको छ। किसानको यो हौसलाका लागि राज्यले पनि हातेमालो गर्न जरूरी छ ।