
धनुषा । मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले प्रदेशको वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ ।
अर्थ मन्त्रालयले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन, आय संकलनको अवस्था र संघीय संरचनासँग सम्बन्धित विभिन्न नीतिगत समस्याबारे धारणा सार्वजनिक गर्नु भएको हो । राजस्व संकलन कमजोर भएपछि सरकारले प्रशासनिक खर्च कटौती, अनावश्यक सामग्री खरिदमा रोक तथा साना आयोजना स्थगन गर्ने नीति अपनाएको छ ।
अनुमानित १० अर्ब ३८ करोडको सट्टा हालसम्म जम्मा ४ अर्ब २५ करोड मात्र मौज्दात रहेको उल्लेख गर्दै मन्त्रालयले आय संकलनको गति कमजोर हुँदा कुल बजेटको झन्डै १७ अर्ब घाटा हुने जोखिम देखिएको जनाएको छ । १० लाख रूपैयाँभन्दा कम लागतका आयोजना तत्कालका लागि रोकिएको स्पष्ट पार्दै अधुरा, क्रमागत, मर्मतसम्भार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित आयोजनालाई मात्र प्राथमिकता दिइएको जनाइएको छ ।