सिन्धुपाल्चोकमा १० करोडको शीतभण्डार सञ्चालन, आलु किसानलाई ठूलो राहत

चैत्र ९, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकमा १० करोडको शीतभण्डार सञ्चालन, आलु किसानलाई ठूलो राहत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कुविण्डेमा दश करोड रूपैयाँको लगानीमा निर्माण भएको शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई आलु भण्डारणमा सहजता भएको छ । 

संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा बनेको शितभण्डारले किसानले व्यवसायिक रूपमा उत्पादन गरिएको आलु सुरक्षित राख्न, बजार अभाव र उचित मूल्य नपाउने समस्या घटाउन तथा बीउ कुहिनबाट जोगाउन राहत दिएको छ ।

सिन्धुपाल्चोकको कुविण्डे, नौविशे, जल्केनी, कार्कीटार , बाह्रविसे र जुगललगायतका क्षेत्रमा अर्गानिक आलुको उत्पादन राम्रो भए पनि शीतभण्डार अभावका कारण किसानहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए । उत्पादन भएको आलु समयमै बिक्री गर्न नसक्दा कुहिने र घाटा बेहोर्नुपर्ने अवस्था रहेको थियो । तर, हालै शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि अहिले बजारमा आलुको मूल्य कम रहेकाले किसानहरूले सुरक्षित रूपमा अहिलेलाई आलु भण्डारण गरेर पछि उचित मूल्यमा बिक्री गर्ने अवसर पाएका छन्।

यसअघि किसानहरूलाई आलु सुरक्षित राख्न राजधानीका शीतभण्डारमा लैजानुपर्दा महागो भाडा तिर्नुपर्ने, ठाउँ नपाएर विभिन्न स्थानमा भौतारिनुपर्ने समस्या थियो । शीतभण्डार खाली नहुँदा धेरैले उत्पादन गरिएको आलु जोगाउन नसक्ने अवस्था समेत आउने गरेको थियो । तर, अहिले सहज रूपमा आफ्नै क्षेत्रमा आलु भण्डारण गर्न पाएका छन् । 

शीतभण्डारले किसानको समय, लागत र श्रमको बचत हुनुका साथै उत्पादन सुरक्षित राखेर उचित समयमा बिक्री गर्न पाउने भएका छन् । कुविण्डे दुग्ध उत्पादन सहकारी संस्थासंगको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिकाको ४ करोड रूपैयाँ लगानीबाट सुरू गरिएको यो आयोजना संघ र प्रदेश सरकारको थप सहयोगसँगै करिब १० करोड रूपैयाँ लागतमा निर्माण भएको हो । 

तीन सय ३० मेट्रिक टन भण्डारण क्षमता रहेको शीतभण्डार सञ्चालनमा आएपछि प्रतिबोरा दुई सय २० शुल्क निर्धारण गरेर हालसम्म १ सय ६५ टन आलु भण्डारण गरिएको छ । सिन्धुपाल्चोकमा उत्पादन हुने आलु अन्य क्षेत्रको तुलनामा स्वादिलो मानिने भएकाले आलुको मागसंगै र किसानको उत्पादन वृद्धि भएको छ। तर, अहिले बजारमा आलुको आपूर्ति अत्यधिक भएकाले मूल्य घटेको छ। 

अपेक्षित मूल्य नपाउँदा किसानहरूले उत्पादन तत्काल बिक्री नगरी भण्डारण गर्न थालेका हुन्।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।