डेढ वर्षपछि खुल्यो बुटवल कृषि बजारको सटर बोलपत्र, अस्वाभाविक भाडाले व्यवसायी चिन्तित

जेष्ठ १५, २०८३ |अमृता अनमोल
डेढ वर्षपछि खुल्यो बुटवल कृषि बजारको सटर बोलपत्र, अस्वाभाविक भाडाले व्यवसायी चिन्तित

बुटवल । नयाँ भाडा सम्झौताका लागि खोलिएको बोलपत्र कति दिनमा खुल्छ? 

कालीमाटीपछि देशकै ठूलो कृषि उपज थोक बजार केन्द्र बुटवलको सटर भाडाका लागि खोलिएको बोलपत्र भने डेढ वर्षपछि बल्ल खोलिएको छ । जेठ ८ गते बोलपत्र खोलियो र तर, बोलपत्रमा अत्यधिक धेरै भाडा कबोल देखिएपछि व्यवसाय कसले कसरी गर्छ ? प्रश्न उब्जीएको छ ।

वार्षिक ७ अर्ब रुपैया बराबरको तरकारी तथा फलफूलको कारोबार हुने बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रका ६८ मध्ये ६५ वटा सटर भाडाको बोलपत्र २०८१ भदौ २४ मा माग गरिएको थियो । यी सटर भाडाका लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । 

तर, कहिले अदालती मुद्दा प्रक्रिया त कहिले व्यवसायीको विरोधका कारण बोलपत्र खोलिएन । बरू प्रहरी कार्यालयमा थन्काइयो । अदालतको फैसला र कृषि विभागको ताकेतापछि बल्ल कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेल सहितको टोलीले बुटवलको कृषि बजारको बोलपत्र खोलेको छ । 

सूचनाअनुसार सबैभन्दा बढी न्यू गौतम सब्जी भण्डारले ३ लाख ७ हजार १४२ रुपैयाँ कबुल गरेको छ। नसिम अहमदले २ लाख २१ हजार ७८६ र अहमद अलि मुसलमान दुई लाख १७ हजार ७ सय ८६ कबोल गरेका छन् । जुन अहिलेको भाडा रकमभन्दा पाँच गुणा बढी हो ।

अहिले सञ्चालनमा रहेका ६५ वटा सटरमध्ये ३६ वटा सटरमा पुराना व्यवसायीको बोलपत्र परेको छैन । उनीहरुलाई कहाँ जाने चिन्ता छ । कतिपय वर्षौदेखि गरेको व्यवसाय हराउने डरमा धेरै रकमको बोलपत्र भरेकाले कसरी सम्झौता गर्ने पिरलोमा छन् । 

तरकारी तथा फलफूल ल्याउन कृषकहरूसँग सम्झौता र भुक्तानी गरेका व्यवसायीहरू अब व्यवसाय कहाँ कसरी सञ्चालन गर्ने पिरोलिएका छन् । संघीय सरकारको कृषि मन्त्रालय, बुटवल उपमहानगर र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको साझेदारीमा २०६७ सालमा बुटवलमा कृषि उपज तथा थोक बजार केन्द्र स्थापना भएको हो । 

बुटवल ६ पुरानो बसपार्कको १ बिघा ८ कठ्ठा क्षेत्रफलमा रहेको कृषि बजार स्थापनामा लागत साझेदारी गरेका व्यवसायीहरु १० वर्षका लागि बसेका थिए । व्यवसायीहरुको म्याद ६ वर्षअघि नै सकिए पनि व्यवसायीहरु आन्दोलनमा उत्रदा नयाँ बोलपत्र खोलिएको थिएन । 

बोलपत्रमा अस्वभाविक भाडा मूल्य राखिदा अब फेरि कृषि बजारका व्यवसायीहरु के गर्ने अलमलमा छन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।