
काठमाडौै । सरकारले प्रभावकारी नियमन र निगरानी गर्न नसक्दा वैदेशिक रोजगारीका नाममा खुलेआम ठगी बढेका छन् । चालु वर्षको ६ महिनामै २८ सयभन्दा बढी व्यक्तिगत ठगीका उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । इजाजत नलिएका संस्थाहरुले लाखौं रुपैयाँ पारिश्रमिकको प्रलोभन देखाएर बेरोजगार युवा ठगी गर्दासमेत वैदेशिक रोजगार विभाग र प्रहरी मुकदर्शकजस्तै बनेका छन् ।
ललितपुरको भ्याली होम केयरले ३ महिनाको तालिम लिएपछि बेलायतमै काम पाइने र महिनाको ५ लाखसम्म कमाउन सकिने भनेर लोभ देखाएपछि काभ्रेका विकल खरेलले सुन्दर भविष्यको सपना देख्न थाले । कम्पनीले भनेअनुसार कागजात जुटाउँदै गए र माग गरेको ४५ लाखमध्ये ३० लाख रुपैयाँ बुझाए पनि । तर, जब आवेदनपछि दूतावासबाट १० वर्षको आवेदन प्रतिबन्धको पत्र आयो, छाँगाबाट खसेजस्तै भए ।
घरेलुमा दर्ता भएको भ्याली होम केयरबाट ठगिनेमा विकलमात्र एक्ला थिएनन् । अन्य १८ जनासँग जनही ३० देखि ४५ लाखसम्म असुलेर ठगी गरेको खुलेपछि उनीहरुले दिएको उजुरीका आधारमा धनुषा घर भएकी नेहा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरु अहिले न्यायका लागि भौतारिइरहेका छन् ।
वैदेशिक रोजगारीका लागि इजाजत नै नलिएका संस्थाले पारिश्रमिकको लोभ देखाउँदै सामाजिक सञ्जालमार्फत् खुलेआम विज्ञापन गरिरहेका छन् । तर, विभाग र प्रशासनले निगरानी नगर्दा व्यक्तिगत ठगी बढिरहेका छन् । विशेषगरी, एजुकेशन कन्सल्टेन्सी तथा च्याउसरी खुलेका जब सेन्टरले ठगी गरिरहेका छन् ।
साउनयतामात्रै युरोपेली देशमा लैजाने भन्दै ठगी गरिएका २८ सय ८७ उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् । यी व्यक्तिगत उजुरी हुन् । यसबाहेक यो अवधिमा संस्थागत ठगीका ६ सय ३० उजुरी परेका छन् । विभाग भने ठगी नियन्त्रण चुनौतीपूर्ण रहेको स्वीकार्छ ।
सरकारले प्रभावकारी नियमन गर्न नसक्दा वेरोजगार युवा ठगिने क्रम बढेको छ । त्यसमाथि सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरी ठगी गर्ने क्रम जारी रहेकाले विभागले निगरानीको दायरा पनि बढाउनुपर्ने देखिन्छ ।