
काठमाडौं । भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गर्नु भयो ।
महानिर्देशक भण्डारीले नेपाल-भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरूको सहयोगमा अर्धन्यायिक निकायको रूपमा समेत काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले खुला सीमाका कारण भइरहेको अर्बौंको चोरी निकासीका सामानहरूलाई नियन्त्रणमा लिने र उनीहरूलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताउनु भयो ।
विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भइरहेको दाबी समेत गर्दै आएको छ ।