
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं व्यापार महोत्सव-२०८२ आयोजना गर्ने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइएको हो । मेला आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुनेछ । काठमाडौं बिजनेश एक्स्पो २०२६ व्यापार-व्यवसायको उत्थान, कला-संस्कृति तथा पर्यटन प्रवर्द्धनः समृद्ध काठमाडौं हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको आयोजकको भनाइ छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले महोत्सवमा करिब २ सय भन्दा बढी व्यवसायिक स्टलहरू रहने र स्थानीय उत्पादन, हस्तकला, खाना, प्रविधि तथा विभिन्न सेवा प्रदर्शनीमा राखिने बताउनु भयो । महोत्सवले काठमाडौं जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार महोत्सवमा नेपालका साथै भारत र बंगलादेशका विशेष उत्पादनहरू पनि प्रदर्शनीमा रहनेछन् । यसले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँकाे भनाइ छ । महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको उहाँले बताउनुभयाे ।
अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी-व्यवसायी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड लभर्स तथा कला-संस्कृति पारखीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकको भनाइ छ । महोत्सव दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।