सिन्धुपाल्चोकका उम्मेदवार घरदैलोको तयारीमा जुटे, विकास निर्माण बन्यो मुख्य एजेन्डा

माघ ११, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोकका उम्मेदवार घरदैलोको तयारीमा जुटे, विकास निर्माण बन्यो मुख्य एजेन्डा

सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकका उम्मेदवारहरू मनोनय दर्तापछि विकास निर्माणलाई मुख्य एजेन्डा बनाउँदै घरदैलोमा जाने तयारीमा जुटेका छन् । 

अधिकांश उम्मेदवारले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगार सिर्जनालाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई तीव्र बनाउने तयारीमा लागेका हुन् । दुई प्रतिनिधि सभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा आगामी निर्वाचनलाई लक्षित गरी कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र रास्वपासहित १५ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारसहित ३६ जनाले मनोनयन दर्ता गराएका छन् । 

दोहोरिएका र पहिलोपटक उम्मेदवार बनेका उम्मेदवारहरू सबेका विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता एजेन्डा मुख्य छन् । राजधानी काठमाडौंबाट नजिक भए पनि आधारभूत पूर्वाधारको अभाव अझै कायमै रहेकाले उम्मेदवारहरूले ती समस्या समाधानलाई कामको रूपमा अघि सारेका छन् । 

ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजनाको विस्तार र सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्य क्षेत्रका अधुरा काम पूरा गर्ने पुराना उम्मेदवारको धोको छ । आफूलाई नयाँ तथा वैकल्पिक पार्टीका रूपमा चिनाउने उम्मेदवारहरू भने पुरानो दलबाट भएको काम जनतामुखी नभएकाले जनताको साझा उद्देश्य लिएर आएको बताउँछन् । 

घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या बुझ्ने र समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने तयारी गरिहेको उनीहरू बताउँछन् । गाउँस्तरमा भेला, अन्तरक्रिया र छलफलमार्फत सुझाव संकलन गर्ने, स्थानीय आवश्यकताअनुसार विकासका प्राथमिकता तय गर्ने रणनीति उनीहरूले लिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा पुराना र नयाँ दलका उम्मेदवारहरूको गतिविधि तीव्र बन्दै गएको छ । उनीहरूले शान्तिपूर्ण, मर्यादित र आ-आफ्नो एजेन्डाले जनताको विश्वास जित्ने लक्ष्यसहित घरदैलो अभियानलाई प्रभावकारी बनाउने तयारी गरिरहेका छन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।