
काठमाडौै । आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थामा थुप्रिएको तरलता र त्यसले घटाएको ब्याजदरको सिधा प्रभाव राजस्वमा समेत परेको छ ।
ब्याजदर घटेका कारण आयकर समेत घटेको छ । घटेको राजस्वले रोजगारीसँगै उत्पादनमा समेत प्रभाव परेको देखिएको बिज्ञहरु बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा पुससम्म ७ खर्ब ११ अर्ब उठाउने लक्ष्य राखेको थियो । जसमध्ये जम्मा ८१ दशमलव सात पााच प्रतिशत अर्थात ५ खर्ब ८१ अर्ब उठेको छ । गत वर्ष यही समयमा ५ खर्ब ६७ अर्ब उठेको थियो ।
समग्र राजस्व गत वर्षको तुलनामा ३ दशमलव एक-आठ प्रतिशत बढि उठेको देखिए पनि लक्ष्य अनुसार भने यस्तो प्राप्तिमा अर्थ मन्त्रालय स्वयं सन्तुष्ट छैन । अझ आयकर तथा ब्याजकर त गत वर्षको तुलनामा कम उठेको छ ।
गत वर्षको पुसको तुलनामा भन्सार महसुल ८ प्रतिशतले बढेको छ । आयातमा भएको बढोत्तरीले राजस्वमा केही सघाउ पुराएको छ । साथै मूल्य अभिबृद्धिकर पनि ८ दशमलव तीन-एक प्रतिशतले बढेको छ । तर आयकर भने २ दशमलव छ-छ प्रतिशतले गत वर्षभन्दा कम उठेको छ ।
ब्याजकर गत वर्षभन्दा १६ दशमलव तीन-नौ प्रतिशतले घटेका बेलामा आयकर पनि शून्य दशमलव नौ-शून्यले घटेको छ । आयकरमा आएको यस्तो कमीले के संकेत गर्छ त ?
अन्य राजस्व तथा गैरकरमा समेत कमी आएको छ। गत वर्षको पुससम्म ७० अर्ब गैरकर उठेकामा यो वर्षको सोही अवधिमा ६१ अर्ब मात्रै उठेको छ । राजस्वमा ठूलो बृद्धि हुन नसक्नुले आर्थिक गतिबिधिमा सुस्तता र मन्दी रहेको प्रष्ट संकेत गरेकाले अर्थतन्त्र चलायमान हुने गरि काम अघि बढाउन जरुरी देखिन्छ ।