
जनकपुर । बेमौसमी वर्षा र लगातार चार साताको शीतलहरका कारण मधेश प्रदेशमा हरियो तरकारीको भाउ आकाशिएकाे छ ।
यसवर्ष असोज र कात्तिकमा परेको बेमौसमी ठूलो पानी र पुस ४ गतेदेखि चलेको शीतलहरका कारण तरकारीको भाउ आकाशिए पछि सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । गत वर्ष २० देखि ३० रूपैयाँ प्रतिकिलो पाइएको काउलीको भाउ जनकपुरलगायतका बजारमा अहिले १ सय २० रूपैयाँमा बिक्री भइरहेको छ ।
रायो, बेथे, पालकलगायतका साग सस्तो रहे पनि मटर कोसा १ सय २०, सिम १ सय, भ्यान्टा सय, गोलभेडा १ सय २०, तरूल २ सय र फर्सी ६० रूपैयाँ प्रतिकिलो पाउन थालेपछि उपभोक्ता निकै आर्थिक मारमा परेका हुन् । मिथिलामा माघे संक्रान्तिमा खिचडीसँगै विभिन्न परिकारको तरूवा र तरकारी खाने चलन रहेका कारण चाडपर्वको मुखमा तरकारीको भाउ अचाक्ली बढेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र निम्न आय स्तर भएका नागरिक सबैभन्दा बढी प्रभावित भएको हो ।
मागको तुलनामा स्थानीय स्तरमा १० प्रतिशत पनि उत्पादन हुन नसकेको र बाहिरबाट महँगो मूल्यमा आयात गर्नुपर्दा हरियो तरकारीको भाउ आकाशिएको व्यापारीहरूको दाबी छ भने विभिन्न बहानामा चर्को मूल्य असुल्दा तरकारी बजार असन्तुलित भएको उपभोक्ताको गुनासो छ ।
दैनिक उपभोग्य खाद्यवस्तु, मासुलगायतका क्षेत्रमा चाडपर्वका बेला अनुगमन गरे पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनकपुरमा तरकारी बजार अनुगमन गरेको भेटिएको छैन् । दशैं मनाइरहँदा असोजमा र तिहारको मुखमा कात्तिकमा परेको बेमौसमी वर्षाले मधेशमा मात्र यस वर्ष २ अर्ब १२ करोड ३७ लाख बराबरको ३ हजार १ सय ७ हेक्टरमा किसानहरूले लगाएको हरियो तरकारी बाली नष्ट भएको थियो ।