देशभरका २९ वटा भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली सुरू

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभरका २९ वटा भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली सुरू

काठमाडौं । देशभरका २९ वटा भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली सुरू भएको छ । 

आयात तथा निर्यात हुने सामानको मूल्यदर अनलाइनमार्फत मूल्यांकन गर्ने प्रणाली सुरू भएको हो । यससँगै वास्तविक मूल्यमा नेपालका ग्राहकले अन्तर्राष्ट्रिय बस्तु खरिद गर्न पाउने भन्सार विभागले जनाएको छ । कारोबार गरेकै मूल्यमा भन्सार जााचपास भएपछि अब अन्तर्राष्ट्रिय व्यापारसमेत पारदर्शी हुने विभागले जनाएको छ । 

यसअघि सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार जाँचपास हुँदा वास्तविक मूल्यांकन नहुने र बजारसम्म पुग्दा बिल-बिजकमै फरक पर्ने हुन्थ्यो । सस्तोमा सामान आयात गर्दा पनि भन्सारको सन्दर्भ मूल्य बढी हुँदा मूल्य बढाएर बिल जारी गर्नुपर्ने समेतको बाध्यता थियो । ४० भन्सार कार्यालयमध्ये गत शुक्रबारदेखि २९ वटामा कारोबार गरेकै बिलको आधारमा जाँचपास हुने भएको हो ।

व्यवसायीले तिरेको वा तिर्नुपर्ने मूल्यका आधारमा भन्सार जाँचपास हुने हुँदा यसले समग्र अर्थतन्त्रलाई पारदर्शी बनाउने विभागले जनाएको छ । बहुराष्ट्रिय कम्पनी तथा एजेन्सीमार्फत गरेका कारोबारको समेत छिटो जाँचपास गर्न सके व्यापारको लागत घटाउने व्यवसायी बताउँछन् ।

यो प्रणाली लागू भएसँगै भन्सार जाँचपास गराउन निजी क्षेत्रले नक्कली बिल-बिजक जारी गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तर यसमा वास्तविक कारोबार र सही कागजातमात्र पेस गर्नुपर्ने भएकाले निजी क्षेत्र पनि इमान्दार हुनुपर्ने भन्सार विभाग बताउँछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.