सल्यान । रिट्ठा महत्वपूर्ण जडिबुटीमध्ये पर्ने एक वनस्पति हो ।
रूखो र सुक्खा स्थानमा सजिलै हुने यसको खेतीमा धेरै मेहनत आवश्यक पर्दैन । बाझो बारी, पाखा-पखेरा र वन क्षेत्रमा पाइने रिट्ठा पछिल्लो समय किसानको आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा रिट्ठाको माग बढ्दै गएपछि सल्यानका किसानहरू अहिले व्यावसायिक रिट्ठा खेतीतर्फ समेत आकर्षित भएका छन् ।
सल्यानको त्रिवेणी गाउँपालिका-१, काभ्राका गणेशबहादुर वलीले पहिले बारीमा उम्रिएका रिट्ठाको महत्व नबुझ्दा त्यतिकै खेर जाने गर्थे । तर अहिले बजारको माग र राम्रो आम्दानी देखेपछि उहाँ व्यवसायिक खेतीमा लाग्नुभएको छ । यस वर्ष उहाँले २० क्विन्टल रिट्ठा बिक्री गर्नुभएको छ । काभ्राकै पुष्पा कुमारी वलीले पनि रिट्ठाको महत्व बुझेपछि यसको व्यवसाय विस्तार गर्नुभएको छ । यस वर्ष उहाँले १५ क्विन्टल रिट्ठा बिक्री गर्नुभएको छ ।
त्रिवेणीको काभ्रा क्षेत्रहरूमा बर्सेनि व्यवसायिक रूपमा रिट्ठा खेतीको बढ्दै गएको छ भने कृषकहरूले आर्थिक आम्दानीसमेत गर्न थालेका छन् । यसलाई नगदे बालीका रूपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लामा रिट्ठा खेतीमा वृद्धि हुँदै गएको हो ।
रिट्ठाबाट साबुन, सेम्पु, हेन्ड वाक्स निर्माणमा कच्चा पदार्थको रूपमा प्रयोग हुँदै आएको छ । सल्यानमा उत्पादित भएको रिट्ठा नेपालगञ्ज हुँदै भारत र युरोपका विभिन्न देशहरूमा जाने गरेको छ । अहिले गाउँ-गाउँसम्म सडक बाटोको सुविधा भएपछि किसानहरूले उत्पादन गरेको रिट्ठा सहजै बजारमा जाने गरेको छ । यसमा स्थानीय व्यापारीहरूले संकलनमा सहजीकरण गर्दै आइरहेका छन् ।
सल्यानमा गत आर्थिक वर्षमा राष्ट्रिय वनबाट २ लाख ६५ हजार ७ सय केजी र निजी आवादी वनबाट एकलाख ३१ हजार ८ सय केजी रिट्ठा उत्पादन भई निकासी भएको डिभिजन वन कार्यालयको तथ्याङक छ । यस आर्थिक वर्षमा हालसम्म २ लाख ८९ हजार केजी संकलन इजाजत गएकाले रिट्ठाको उत्पादन र निकासी वृद्धि हुने आंकलन गरिएको छ ।
रिट्ठा खेती प्रवर्द्धन गर्न डिभिजन वन कार्यालय सल्यान र वनस्पति अनुसन्धान केन्द्रले नर्सरीमार्फत बिरूवा उत्पादन गरी किसानलाई उपलब्ध गराउँदै आएका छन् । सामुदायिक वन क्षेत्रभित्र समेत व्यवसायिक रिट्ठा खेती गरेर आम्दानी बढाउन किसानलाई प्रोत्साहन गरिएको छ । बजार र प्राविधिक सहयोग निरन्तर रहेमा रिट्ठा खेती जिल्लाको प्रमुख नगदे बाली बन्न सक्ने अपेक्षा गरिएको छ ।