
चितवन । चितवनका किसानहरूलाई दूध उत्पादनको लागत घटाउन प्रशिक्षण दिन थालिएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले अगुवा किसानहरूलाई भेला गर्दै जलवायुमैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम दिन थालेको हो । हेफर प्रोजेक्ट नेपाल ललितपुरको आर्थिक सहयोगमा दुग्ध सहकारीको माध्यमबाट छुट्टा-छुट्टै ठाउँमा दुई दिने तालिम दिन थालिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव तथा विजय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष कल्याण अधिकारीले जानकारी दिनुभयो ।
बिहीबारदेखि भरतपुर महानगरपालिका-१६ विजयनगरस्थित विजय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सभाहलमा दुई दिने तालिम सुरू गरिएको छ । यो तालिम यसअघि राप्ती, खैरहनी नगरपालिकामा पनि सञ्चालन भइसकेको छ । जिल्लाका अन्य सहकारी संस्थाहरूमा पनि तालिमलाई निरन्तरता दिने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताउनुभयो ।